काठमाडौँ । बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड ९बीपीडीबी० ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।
बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमवार पत्र पठाएको हो।
कानूनमा भएको व्यवस्थाबमोजिम बिपिडिबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी ५ वर्षसम्म खरिदका लागि बोलपत्र ९टेन्डर० आह्वान गरेको थियो।
प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेश गरेको थियो। पेश गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो।
प्राधिकरणले ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिनुपर्नेछ। त्यसपछि बिपिडिबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउनेछ।
मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्नेछ। प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम ९एनभीभीएन०, भारत र बिपिडिबीबिच त्रिपक्षीय सम्झौता हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बङ्गलादेश विद्युत् निर्यात गर्ने गरी काम थालिसकेको बताएका छन्।
‘‘त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ, त्यसपछि बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाउँछौँ, नयाँ आयोजना पठाउँदा स्वीकृति पाउन समय लाग्ने भएकाले यसअघि नै भारतमा विद्युत् निर्यात स्वीकृति पाइसकेका आयोजनाहरूबाट उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउँछौँ।’’
प्राधिकरणले भारतीय अनुदानमा निर्मित तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरू हुन्।
प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म ५ वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ।
प्राधिकरणले बङ्गलादेश विद्युत बिक्री गरी प्रति युनिट ६।४० अमेरिकी सेन्ट पाउनेछ।
नेपाल-भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रशारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउनेछ।
अर्थात् बङ्गलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रशारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ।
मुजफ्फरपुरबाट भारतको प्रशारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा ९बङ्गलादेश० ४०० केभी प्रशारण लाइन हुँदै बङ्गलादेश विद्युत पुग्नेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रशारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बङ्गलादेशले नै बेहोर्ने बताए।
उनले बङ्गलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७।६ सेन्ट पुग्ने उल्लेख गरे।
‘‘हामीले मुजफ्फरपुर विन्दुमा ६।४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत बिक्रीका लागि हामीले पाएको दर उचित हो’’, उनले भने, ‘‘सरकारी तहमा बङ्गलादेशसँग साङ्केतिक रूपमा पहिलो चरणमा हुन लागेको विद्युत व्यापारले एकातर्फ आगामी दिनमा क्षेत्रीय रूपमा ठूलो परिमाणमा व्यापार गर्न सहयोग र सहजीकरण गर्नेछ भने विद्युत व्यापारका अरू बाटाहरू पनि खोल्नेछ।’’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved