काठमाडौं । अमेरिकाले यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण थालेको छ । हुथी विद्रोही समूहविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण शुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा उल्लेख गर्नुभएको छ ।
लाल सागरमा जहाजहरूमा सशस्त्र समूहबाट आक्रमण भएको र जवाफी आक्रमण थालिएको ट्रम्पको दाबी छ । साथै उहाँले इरानको आर्थिक सहयोगमा, हुथी समूहले अमेरिकी विमानमा मिसाइल प्रहार गरेको र आफ्ना सेना र सहयोगी उनीहरुको निशानामा परेका आरोप लगाउनुभएको छ ।
हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको र अन्य नौ जना घाइते भएको बताएको बीबीसीले उल्लेख गरेको छ । हुथी समूहले साना र साउदी अरेबियाको सिमानामा रहेको विद्रोहीको गढ सादाको उत्तरी प्रान्तमा शृङ्खलाबद्ध विस्फोट भएको रिपोर्ट गरेका छन् ।
इजरायल र अमेरिकालाई आफ्नो शत्रु मान्दै आएको इरान समर्थित विद्रोही समूह हुथीले साना र यमनको उत्तर–पश्चिममा पकड कायम गर्दै आएको छ । हुथी विद्रोही यमनको अल्पसङ्ख्यक शिया मुस्लिम समुदाय जायदीको समूह हो ।
सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हुथीहरूले अमेरिका र इजरायललाई शत्रुका रूपमा लिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved