काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि बनेको जनआन्दोलन समितिले चैत १५ गतेको आन्दोलनपछि पक्राउ परेका नेता-कार्यकर्ताहरुलाई आस्थाका बन्दी घोषणा गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।
संयुक्त राष्ट्रसंघ, एमनेस्टी इन्टरनेसनल लगायत विश्व मानवअधिकार समूदायसँग समितिले यस्तो अपिल गरेको हो । कार्यवाहक अध्यक्ष जगमान गुरुङको अध्यक्षतामा हिजो र आज समितिको वैठक बसेको थियो । दुवै वैठकमा राजसंस्था पुनस्र्थापनाको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा छलफल भएको प्रवक्ता स्वागत नेपालले बताए ।
तत्काल आफूहरुको ध्यान घाइतेहरुको उपचार र थुनिएकाहरुको रिहाइहरुमा रहने उनको भनाइ छ । वैठकले हाल पक्राउ परेका व्यक्तिहरुमाथि कुनै घटनाका सम्बन्धमा नभई आस्थाका आधारमा मुद्दा लगाइएकोले उनीहरुलाई आस्थाका बन्दी घोषणा गर्न विश्व मानवअधिकार समुदायसँग आह्वान गरिएको छ ।
वैठकपछि जारी विज्ञप्तिमा प्रवक्ता नेपालले भनेका छन्, ‘हामी अझै पनि शान्तिपूर्ण आन्दोलन, संवाद र वार्ताको पक्षमा छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिप्रति वैठकले निन्दा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved