काठमाडौं । निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । अस्ति आइतवार र हिजो दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार अघि बिहान ५ बजेसम्म बन्दसूची दर्ताको काम भएको छ ।
प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, वाग्मती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ । छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्नेछ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् ।
छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ सम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ । दलले बुझाएको विवरणमा समूह फरक परेको, उम्मेदवारको स्वघोषणा नभएको, नागरिकता, मतदाता परिचयपत्र नरहेको भए संशोधन गरेर ल्याउन समय दिइने समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved