मोरङ ।
विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो ।
शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए । बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ । कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ । अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७०० देखि एक हजार जनासम्मले खाना खाने गरेको बताए । क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरेका छन् ।
“दिनको करिब रु १७ हजार खर्च हुन्छ”, अभियानकर्मी धाडेवालले भने, “यो अभियान अब सधैं रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन् ।” एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन् । यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर छ । “वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने उनले जनाए ।
यता, झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेको गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेको स्टलमा पनि यहि अभियान थालिएको छ । यहाँ ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । दमकका युवाहरुले बुधबारदेखि यो सकारात्मक अभियान सञ्चालन गरेका हुन् ।
उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् । इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved