इटहरी ।
तरुण दल सुनसरीले इटहरीका विपन्न परिवारका लागि स्वास्थ्य शिविर संचालनसंगै न्यानो कपडा वितरण गरेको छ ।
तरुण दल सुनसरीको टोलीले इटहरी–२ स्थित सुकुम्बासी बस्तीमा गएर विपन्न परिवारका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरबाट बस्तीका ४० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । उनीहरुलाई चिसोको समयमा हुने रोगका साथै अन्य विरामको चेकजाँच गरि राय सल्लाह दिनुका साथै औषधि समेत वितरण गरिएको छ । शिविरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फिजिसियन डाक्टर देवराज घिमिरेको टोलीले सेवा प्रदान गरेको थियो । त्यस अवसरमा तरुण दल सुनसरीले सोही बस्तीका विपन्न परिवारलाई ज्याकेट लगायतका न्यानो कपडा वितरण गरेको छ । तरुण दलले हरेक वर्ष सामाजिक दायीत्व अन्तरगत कपडा वितरण जस्ता कार्यक्रम गर्दै आएको तरुण दल सुनसरीका सभापति सिजन गुरुङले जानकारी दिए ।
उनले तत्कालका लागि आफ्नो आङ समेत ढाक्न नसक्नेहरुका लागि ज्याकेट वितरण गरिएकाले आगामी दिन थप सहयोग प्रदान गरिने बताए । साथै शिविरमा भेटिएका जटिल विरामीहरुलाई थप उपचारका लागि सहजिकरण गर्ने समेत उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved