कञ्चनपुर। कञ्चनपुरका चिनी मिलले सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य दिन अझै अटेरी गरेपछि किसान सस्तोमा बिक्रि गर्न बाध्य भएका छन्। सरकारले ढिलो गरी उखुको मूल्य निर्धारण गरेपनि चिनी मिल सञ्चालकले भने आफुखुसी मूल्य निर्धारण गर्दै उखु खरिद गरिरहेका हुन्।
यसअघि सरकारले मूल्य निर्धारण गरेसंगै सोही अनुसार उखु खरिद गर्ने दावी चिनी मिलहरुले गरेपनि अहिले आएर आफैले निर्धारण गरेको मूल्य अनुसार मिलहरुले उखु खरिद गरिरहेका छन्। बेलौरी नगरपालिका १० की पार्वती जोशीले चिनी मिलहरुले सरकारले तोकेको मूल्य दिन अटेरी गरेपछि पुरानै मूल्यमा उखु विक्री गर्नु परेकोे गुनासो गरिन्।
सरकारले यसअघि चिनी मिलहरुलाई चार सय ७१ रुपैँयामा प्रति क्वीन्टल उखु खरिद गर्न निर्देशन दिएको थियो। तर चिनी मिलहरुले भने अर्लिजातको उखुको चार सय ४१ मात्रै उपलब्ध गराईरहेको छन् भने अन्य उखु ४ सयदेखि चार सय १६ सम्ममा खरिद गरिरहेका छन्। यसअघि उखु किसान हकहित संरक्षण समितिसंग चिनी मिलले अर्लिजातको उखुमा प्रति क्वीन्टल चार सय ४१ रुपैँया मुल्य निर्धारण गरेको थियो। तर अहिले पनि सोही मूल्यमा उखु बिक्रि गर्नुपरेको शिबनगरकी डम्बरी रेग्मीले बताईन्। उनले नयाँ तोकिएको मूल्य उपलब्ध नगराउँदा बाध्यताले पुरानै मूल्यमा भए्पनि उखु बिक्रि गर्नुपरेको गुनासो गरिन्।
भारतबाट धमाधम उखु आयात भईरहदा आफुहरुले मिलहरुबाट कटानी आदेश समेत नपाएको कलकत्ताका उखु किसान नारायण रानाले बताए। उनले कटानी आदेश नपाउँदा एक महिना बढी भईसक्दा समेत उखु काट्न नपाएको गुनासो गरे। तर चिनी मिलहरुले भने सरकारले तोकेको मुल्य उपलब्ध गराईने दावी गरेका छन्। महाकाली चिनी मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भने पुस ११ गते पछि सरकारले तोकेकै मूल्य किसानलाई उपलब्ध गराईने बताए। उनले भारतबाट उखु आयात भईरहेको भन्ने सुन्नमा आएकाले प्रहरीले चनाखो हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved