काठमाडौं । किरात समुदायले आज धुमधामका साथ उधौली पर्व मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउँछन्।
आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन्। बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ। भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने प्रचलन छ। यस्तै, घरघरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने प्रचलन पनि छ। जाडो याम सुरु भएपछि उधौली याम सुरु भएको मानिन्छ।
यस याममा जाडो छल्न चराचुरुङ्गी‚ माछा माथिल्लो भेगबाट तल्लो भेगमा झर्ने गर्छन्। पहाडी भेगमा पैंयु फुलेपछि उधौली याम लागेको भनी मानिन्छ। उधौली पर्वको अवसरमा किरात समुदायको बाक्लो बसोबास रहेको ठाउँमा आज मेला‚ महोत्सव पनि आयोजना गरिन्छ। मेलामा याःलाङ, धाननाच‚ केलाङ, च्याब्रङ नाच,र साकेला नाचलगायत परम्परागत नाच नाचेर रमाइलो गरिन्छ। यस्तै‚ परम्परागत खेलहरूको पनि आयोजना गरिन्छ।
यस अजसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना दिदै किरात समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ बताृउनु भएको छ । यस उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देश दिएको राष्ट्रपति भण्डारीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved