काठमाडौं । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा ३०० औं पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइदै छ ।
पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरुले शालिकमा माल्यार्पर्णको कार्यक्रम राखेका छन् । आजै श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाह पनि शालिकमा माल्यार्पणका लागि मध्याह्न १२ : ३० वजे सिंहदरबार गएर शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । अहिले सम्म सार्वजनीक रुपमा पृथ्वी जयन्ती मनाउन नजानु भएका राजा ज्ञानेन्द्र शाहको ३०० औ पृथ्वी जयन्ती मनाउने पूर्व कार्यक्रम नै रहेकाले यस वर्ष माल्यापर्णका लागि निस्कन लाग्नु भएको हो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि आज देशभर विशेष कार्यक्रम राखेको छ । काठमाडौंको भृकुटिमण्डपमा राप्रपाको विशेष कार्यक्रम छ । विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ । शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । यद्दपी केही स्थानीय तहहरुले भने बिदा दिएका छन् ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले सार्वजनिक बिदा दिएपछि विभिन्न राजनीतिक दल, सरोकारवाला समिति तथा अन्य सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई भव्यताका साथ मनाउँदै छन् । शाहको देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्ने आयोजना गरेका छन् । यस्तै राप्रपाले जितेका झापाको हल्दिबारी गाउँपालिका र कचनकवल गाउपालिका लगायत केही स्थानीय निकायले आज सार्वजनीक बिदा सहित विशेष कार्यक्रम राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved