काठमाडौं। गायिका आस्था राउत सोमबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् । परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।
प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा पक्राउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो।
आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved