इटहरी । आन्तरिक उडानमा यात्रा गर्दा अब एन्टिजेन परीक्षण नगरे पनि हुने भएको छ ।यसअघि सरकारले आन्तरिक हवाई सेवामार्फत् यात्रा गर्दा एन्टिजेन परीक्षणलाई अनिवार्य गरेको थियो ।
आन्तरिक उडानमा एन्टिजेन अनिवार्य गर्नुपर्ने प्रावधान अव्यावहारिक भएको भन्दै वायुसेवा सञ्चालकले असन्तुष्टि जनाएका थिए । त्यसपछि गृह मन्त्रालयमा आज (बुधबार) बसेको बैठकमा यस्तो प्रावधान ‘अनिवार्य नगर्ने’ मौखिक सहमति भएको छ ।
यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आफूहरूलाई जानकारी आएको वायुसेवा सञ्चालक सङ्घले जनाएको छ ।
नयाँ मापदण्डअनुसार यात्रुसँग खोप कार्ड हुनुपर्ने, भएको अवस्थामा मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ । यसबाहेक यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने, यात्रा अवधिभर माक्स खोल्न नपाइने व्यवस्था पनि गरिएको छ ।
वायुसेवा सञ्चालकले प्रत्येक हवाइजहाजभित्र सेनिटाइजर व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाइजहाज र ब्यागेज निसङ्क्रमित गर्नुपर्ने, चेक–इन, बोर्डिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्ने प्रावधान लागू गरिएको छ ।
यात्रुको तापक्रम नाप्ने व्यवस्था पनि वायुसेवा कम्पनीले मिलाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved