काठमाडौँ । धेरै यस्ता मानिसहरु छन् जसलाई बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न मन लाग्दैन । अनुसन्धानहरुमा सहि तरिकाको बनाइएको कफी र पिउने मात्रा सहि रहेमा कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगेको छ ।
साथीभाइसँग भेट भएर घन्टौं कफी पिउँदै गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै होइन साना शहरमा र गाँउमा पनि सुरु भएको छ । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ र यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।
दिनमा दुईदेखि तिन कप कफी पिउनु स्वास्थ्यका लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दूध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ । त्यस्तै कफीको साथमा कुनै पनि हेभी स्न्याक्स खाएमा भने त्यसले कफीबाट हुने फाइदालाई कम गर्ने विज्ञले बताएका छन् । यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयो बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।
यस आधारमा भन्न सकिन्छ, कफीले काम गर्नको लागि फुर्तिलो बनाउनुको साथै यसले स्वास्थ्यमा पनि फाइदा गर्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने छैन । नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई कतिपय अवस्थामा हृदयघात हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।
कफी पिउनुका फाइदा
एउटा अध्ययनले दिनको दुईपटक कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ । ब्रिटिस मेडिकल जर्नलमा छापिएको उक्त अध्ययन प्रतिवेदनका अनुसार कफीका कारण कलेजो सम्बन्धी रोग, क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ ।
कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ ।गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड अनुसन्धानकर्मीले निकालेका छन् । तर अनुसन्धानकर्ताले कफीको मात्रा धेरै भएमा भने स्वास्थ्य समस्या देखिने बताएका छन् । यस्तै आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन भनेका छन् ।
कफी नपिउने मानिसका तुलनामा दिनको लगभग दुई तीन कप कफी पिउने मानिसहरुमा मुटु सम्बन्धी समस्याहरु कम देखिने वा त्यससम्बन्धी रोगका कारण कम मृत्यु हुने गरेको र कफीमा पाइने क्याफिनका कारण पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुने उक्त अनुसन्धानमा बताइएको छ ।
कफी पिउनुको सबैभन्दा ठूलो फाइदा चाहिँ कलेजो सम्बन्धी रोग अनि क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । त्यस्तै कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम रोक्न सहयोग गर्छ । तर उक्त अध्ययनका सह लेखक तथा युनिभर्सिटी अफ साउद ह्याम्पटनका प्राध्यापक पउल रोड्रिक भन्छन् । उमेर, धुमपान, व्यायाम जस्ता कुराले क्यान्सर हुनुमा भूमिका खेलेको हुन्छ । उनका अनुसार दिनको दुईदेखि तीनपटक कफी सेवन गर्नुको फाइदा बेफाइदा भन्दा धेरै छन् ।
ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्राम भन्दा बढी कफी पिउन नहुने बताएको छ । बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुने उनको भनाई छ । त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरुलाई पनि कफीको मात्रा कम गर्न उक्त अध्ययनले सुझाव दिएको छ ।
अनुसन्धानकर्ताहरुले कफी पिउनेहरुलाई स्वस्थ्य रुपमा कफी खान सुझाव दिँदै बढी चिनी नहाल्न, दूध वा क्रिम अनि चिल्लो पदार्थको मिश्रण सकेसम्म कम गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved