इटहरी ।मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा महिलामाथि भएको सामूहिक बलात्कार घटनामा बदमासी गर्ने प्रहरीमाथि छानबिन सुरु भएको छ ।
प्रारम्भिक अनुसन्धानदेखि नै घटनामा गम्भीर लापरबाही गर्ने र पीडकको पक्ष लिएर पीडितलाई हतोत्साही बनाउन खोज्ने प्रहरीमाथि छानबिन भइरहेको हो । प्रहरी प्रधान कार्यालयको निर्देशनमा मोरङ प्रहरीले बेलबारीसहित तीनवटा युनिट र त्यहाँका इन्चार्जमाथि छानबिन गरिरहेको छ । एक जुनियर प्रहरी अधिकृत जिल्ला प्रहरी कार्यालय तानिएका छन् । दुई जनामाथि लिखित स्पष्टिकरण सोधिएको छ ।
बलियाको श्रेष्ठ होटल एन्ड फेमिली लजमा माघ ७ गते राति बेलबारी घर भएकी एक महिलामाथि तीन जनाले सामूहिक बलात्कार गरेका थिए । यौनाङ्ग क्षतविक्षत भएर अत्याधिक रक्तश्राव भएपछि बेहोस बनेकी बलात्कार पीडित महिलालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
बलात्कारमा होटल सञ्चालक सुन्दरहरैँचा–४ का अर्जुन भनिने हिमबहादुर श्रेष्ठ, उनका भाइ सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीको संलग्नता पाइएको थियो । पक्राउ गरेर प्रहरीले तीनै जनाविरुद्ध जरबजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ । होटल सञ्चालक अर्जुन मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी हुन् । उनीविरुद्धको मुद्दा सुनसरी अदातलमा विचाराधीन छ । फरार भनिएका अर्जुनले भने प्रहरीसँग ‘सेटिङ’ मिलाएर बूढीखोलाबाट डेढ किलोमिटरपूर्व बलिया चोकमा होटल सञ्चालन गर्दै आएका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार सामूहिक बलात्कारको घटनापछि अस्थायी प्रहरी चौकी बलियाका इन्चार्ज एवम् असई (सहायक निरीक्षक) प्रल्हाद बोगटीलाई जिम्मेवारीबाट हटाइएको छ । घटनाका बारेमा चाँडै जानकारी पाएर पनि घटनास्थलमा ढिलो पुगेको र माथिल्लो निकायमा समयमै खबर नगरेका कारण बोगटीलाई कारबाहीका लागि बलियाबाट जिल्ला तानिएको श्रेष्ठले बताए ।
छानबिनका क्रममा दोषी पाइए उनीमाथि थप कारबाही अघि बढ्ने डिएसपी श्रेष्ठको भनाइ छ । बोगटीको ठाउँमा बलियाको इन्चार्जका रूपमा असई केशव ओख्राबुलाई खटाइएको छ । ‘बोगटीका बारेमा यसअघि पनि बारम्बार जनगुनासो आइरहेका थिए,’ उनले भने, ‘सामूहिक बलात्कार घटनामा पनि लापरबाही गरेको पाइएपछि कारबाही अघि बढाउनका लागि जिल्ला तानेर छानबिन थालिएको छ ।’
त्यस्तै प्रहरी चौकी गछियाका इन्चार्ज एवम् सई (प्रहरी नायव निरीक्षक) दुर्गा पोमु र इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज तथा इन्सपेक्टर (प्रहरी निरीक्षक) सरोज खनालमाथि पनि छानबिन भइरहेको जानकारी श्रेष्ठले दिए । उनका अनुसार घटनामा लापरबाही गरेको पाइएपछि विभागीय कारबाही अघि बढाउन पोमु र खनाल दुवै जनालाई स्पष्टिकरण सोधिएको छ ।
पोमु लामो समयदेखि राजमार्ग वरपर विशेष जिम्मेवारी दिएर खटाइएका जुनीयर प्रहरी अधिकृत हुन् । उनलाई विशेष गरेर विभिन्न घटनामा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने जिम्मेवारी दिने गरिएको थियो । फरार प्रतिवादी पक्राउमा राम्रो सफलता हासिल गरेको भन्दै उनलाई पटकपटक प्रहरी विभागले पुरस्कृत पनि गरिसकेको छ ।
तर मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीले राजमार्गमै खुलेआम होटल चलाएर अपराधिक धन्दा चलाइरहँदा पनि श्रेष्ठलाई पोमुले पक्राउ गरेनन् । स्रोतका अनुसार पोमुलाई श्रेष्ठ फरार प्रतिवादी हुन् भन्ने कुरा जानकारी थियो । तर साँठगाँठ गरेर ‘सेटिङ’ मिलाउँदै होटल चलाउन दिइरहेको खुलेको छ । गछिया र बूढीखोलाबाट भइरहेको ढुङ्गा, बालुवालगायत नदीजन्य पदार्थको तस्करीमा पनि पोमुले साथ दिइरहेको स्थानीय बताउँछन् ।
श्रेष्ठ फरार प्रहरीवादी रहेको जानकारी इन्सपेक्टर खनाललाई पनि थियो । तर पोमु र खनाललाई मिलाएर राजमार्गको उत्तरतर्फ खुलेआम होटल चलाउन श्रेष्ठ सफल भएको पाइएको उच्च प्रहरी स्रोतले बतायो । इन्सपेक्टर खनालले बलात्कारको घटना बाहिरिएको १० घण्टापछि मात्रै घटनास्थल मुचुल्का उठाउन टोली खटाएका थिए ।
घटनास्थलमा मुचुल्का टोली पुग्दा कामदारले होटल सफा गर्दै बलात्कारसम्बन्धी जघन्य अपराधको प्रमाणहरू नष्ट गरिसकेका थिए । घटनास्थलनजिकै अस्थायी प्रहरी चौकी बलिया र त्यहाँबाट केही पूर्वतर्फ प्रहरी चौकी गछिया छन् । बलात्कारजस्तो गम्भीर तथा तत्काल अनुसन्धान थाल्नुपर्ने अपराधमा मिलेमतो गर्दै इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी गछिया र अस्थायी चौकी बलियाले जानाजान अभियुक्त पक्षलाई प्रमाण मेटाउन समय दिएको खुलेको छ ।
जघन्य अपराधमा गम्भीर लापरबाही र मिलेमतो गरेर अभियुक्तलाई होटल सञ्चालनका लागि बाटो खुला गरिदिने सई पोमु र इन्सपेक्टर खनाललाई भने जिम्मेवारीबाट हटाइएको छैन । असई बोगटी जिल्ला तानिए पनि पोमु र खनाललाई भने लिखित स्पष्टीकरण मात्रै सोधेर उन्मुक्ति दिने प्रयास भइरहेको स्रोतले बतायो ।
डिएसपी श्रेष्ठले स्पष्टीकरण सोधेर थप छानबिन भइरहेकाले कमजोरी एवम् लापरबाही देखिएमा उनीहरूमाथि थप कारबाही अघि बढाइने जानकारी दिए । ‘प्रहरीले तत्काल अभियुक्तलाई पक्राउ गर्न र घटनास्थल मुचुल्का उठाउन चासो नदिएको गुनासो आएको छ । होटल सञ्चालक त्यसअघिकै मुद्दाका फरार प्रतिवादी हुन् भन्ने सूचना पनि आयो,’ उनले भने, ‘अभियुक्तसँग प्रहरीको ‘सेटिङ’को विषय बाहिरिएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको छ ।’
स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानमै जानाजान लापरबाही गरेकाले मुद्दा कमजोर भएर न्याय नपाइने चिन्तामा बलात्कार पीडितका परिवार छन् । होटल सञ्चालकविरुद्ध मुद्दा नचलाउनका लागि इन्सपेक्टर खनालले दबाब दिएको गुनासो पीडितकी बहिनीको छ ।
सुन्दरहरैँचा–५ का वडाध्यक्ष राम रिजालले बलात्कारजस्तो घटनामा बेलैमा गम्भीर ढङ्गले अनुसन्धान नगर्ने प्रहरीमाथि कारबाही हुनुपर्ने बताए । मानव बेचविखनका फरार अभियुक्तलाई पक्राउ गर्नुको साटो ‘संरक्षण’ गरी होटल चलाउन दिँदा बलात्कारजस्तो जघन्य अपराध भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved