बन्द भयो ओलाङचुङगोला नाका

  • माघ २२, २०७६
  • कालापानी मिडिया
alt

ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो ।

यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए ।

“आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको छ र हाल आवतजावत पनि भएको छैन”, अध्यक्ष शेर्पाले भने ।

नाका बन्द हुँदा एक÷दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ । बर्खाको समयमा याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् ।

बर्खामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन् । “अहिले सीमाक्षेत्रमा हिउँ परेकाले रिउ बजारमा ओहोरदोहोर पनि हुँदैन तर बर्खामा भने बाढीपहिरोका कारण सदरमुकामलगायत नजिकका नेपाली बजारमा आउन जान नसकिने हुनाले सो समयमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानका लागि रिउ बजारकै भर पर्नुपर्छ”, प्रवक्ता शेर्पाले भने ।

उनका अनुसार विशेषगरी याङ्मा र थुदामका बासिन्दा बर्खाभर चिनियाँबजारकै भरमा रहने गरेका छन् ।

सीमावर्ती क्षेत्रका बासिन्दाले रिउ बजारबाट याक र चौरीलाई बोकाएर सामान ढुवानी गर्ने गर्छन् । आफूले उत्पादन गरेका गलैँचालगायतका सामग्रीको मुख्य बजार रिउ नै रहेकाले र ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिने गरिएको बताइएको छ । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । यता याङ्मा, थुदाममा पुग्न भने त्यो भन्दा बढी समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved