२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यही कारण प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलाबखत सांगीतिक कार्यक्रमहरु भइरहन्छन् । मंगलबार राति पनि बालुवाटारको माहौल संगीतमय बन्यो । प्रधानमन्त्री ओली आफैंले बाँसुरी बजाए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटे ।
बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य प्रतिष्ठान र संगीत तथा नाट्य संगीत प्रतिष्ठानको सहकार्यमा ‘नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा कलाकारहरुले सांगीतिक धूनहरु पस्केका थिए भने प्रधानमन्त्री निवासका तर्फबाट रात्रीभोज पस्कने काम भएको थियो । सारंगी साँझका अवसरमा बालुवाटारको भवन दिपावलीमा जस्तै झकिझकाउ पारिएको थियो ।
सारंगी साँझ’ मा सत्तारुढ दलका शीर्ष नेताहरु, बहालवाला मन्त्रीहरु र संगीतका पारखीका साथै भर्खरै राजीनामा दिएका उच्चपदस्थ कर्मचारीसमेत देखिन्थे । सारंगी साँझ सुरु हुनुअघि बालुवाटारमै भएको सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सारंगी साँझमा सहभागी हुन पत्रकारहरुलाई पनि निम्तो दिएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सारंगी साँझमा समेत सहभागिता जनाउने गरी सम्पादकहरुसँगको छलफल एकै दिन पारिएको बताए । सम्पादकहरुसँग प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आज सारंगीको धून सुन्ने कार्यक्रम छ, तपाईंहरु ८ बजेसम्म जान पाउनुहुन्न ।
प्रधानमन्त्रीले नेकपाको केन्द्रीय कमिटी बैठक सकिएका दिन आइतबार पनि बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रीभोज दिएका थिए । र, त्यहाँ पनि सांगीतिक माहौल छाएको थियो ।
अनलाईन खबरबाट साभार
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved