काठमाडौं । उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो ।
जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ । यस्तै चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निःसंक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन नपाइने निर्णय गरेको छ ।
लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्नेसमेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो । तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो । सपिङ मल, डिपार्टमेन्ट स्टोर, स्टोर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा ५० जना मात्र र पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सय जना मानिस राखेर धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ ।
यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको छ । फागुन १ देखि सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको छ । तर राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved