राधिका जोशी
एक्कासी दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा आकासिनु रहस्यमय बजेको छ । आज बेलुका एउटा भाउमा किनेको सामान भोलिपल्ट उठ्दा कति पुग्छ अत्तो पत्तो हुदैन । हो यतिवेल यहि भएको छ बजारमा । प्याजको मूल्य वृद्धिको मारमा परेका उपभोक्ता मूल्य घट्न नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढेपछि झन मारमा परेका छन् । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको मुल्य उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने कुखुराको मासुको मूल्य हाल खुद्रा बजार प्रतिकेजी ४ सय २० रूपियाँ भन्दा माथि पुगेको छ ।
नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य त झन सुनि नसक्नु छ । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २१५ देखि २५० रूपियाँ आसपास थियो । तर यतिवेला भने लसुनको बजार मूल्य ६सय ५० रूपियाँ प्रतिकेजी पुगेको छ । कोरोना संक्रमणका कारण चीनतर्फका नाका बन्द हुँदा लसुन आयात घटेकाले मूल्य बढेको व्यवसायीहरुले बताइरहदा उपभोक्ता अधिकारकर्मीहरुले भने लसुनमा कालोबजारी भएको आरोप लगाउदै आएका छन् । उसो त नेपालमा ८० प्रतिशत लसुन चीनबाट आयात हुन्छ । कालीमाटी फलफूल तथा तरकारी वजार विकाश समितिको तथ्यांकअनुसार गत माघ १ देखि हालसम्म १ सय २ टन लसुन चीनबाट आयात भएको छ ।
गत, विहीवार मात्रै ३ टन लसुन कालीमाटी तरकारी बजारमा आपूर्ति भएको तथ्यांक छ । तर, कालीमाटीकै थोक बजार सहित सिमित ठाउँ बाहेकमा लसुन अभाव छ । सिमित व्यापारीले प्रतिकेजी ६ सय ५० रुपैयाँ लिएर बेचिरहेका छन् । एक महिनाअघि मात्रै प्रतिकेजी २ सय १५ रुपैया थियो । यता, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समिति भने हाल विक्रि भएका लसुन एक महिना अघिनै आयात गरिएको बताउँछ । व्यापारीले अस्वभाविक नाफा कमाउने नियतले यति धेरै मूल्य बढाएको स्यम समितिको भनाइ छ । हाल काठमाडौंको बजारमा दैनिक ३ टन लसुनको माग रहेको छ । यो महिना प्रत्येक दिन ५ टन हाराहारीमा लसुन आइरहेको समितिले जानकारी दिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्ने हो भनेपनि अहिले नै लसुनको मूल्य बढ्ने अवस्था छैन । त्यसो हो भने व्यापारीले सामान्य मूल्य बृद्धि नगरेर ३ सय ३५ रुपैयाँ प्रतिकिलो मूल्य बढाएर कालोबजारी गरेको स्पष्ट देखिन्छ । बजारमा यति धरे कालोबजारी हुँदा समेत नियमक निकाय मौन रहनुले प्रसस्तै शंकाका आधार बनाएको छ । वार्षिक चीनबाट मात्रै ६०४ टन हारहारीमा लसुन भित्रिन्छ । गत वर्ष नेपाली उत्पादन भनी कालीमाटी बजारमा ४ सय ७५ टन लसुन आएको थियो ।
लसुन त चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा मूल्य बढेको भनिएको छ । तर, कुखुराको मासुको मुल्य बृद्धि हुनुको मुख्य कारण भने अर्कै छ । व्यवसायीले ३० लाख बढी कुखुराहरु खाल्डो खनेर पुर्ने मात्र होइन, क्रेटमा बसेका चल्लामाथि तातोपानी खन्याएर मारेका छन् । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् ।
मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका छन । त्यति मात्रै होइन, ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैँले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका थिए । १० दिन उनीहरूले गरेको आन्दोलनका कारण अहिले कुखुराको मासुको मूल्य ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको हो । अर्थात, डेढ महिनामा कुखुराको मासुको मूल्य ५० प्रतिशतले बढेको हो ।चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीले मंसिर २९ देखि ८ पुससम्म देशभर चल्ला उत्पादन बन्द गरेका थिए ।
यसबीचमा चल्ला खाल्डोमा हालेर नष्ट गरिएको थियो । केही फार्ममा जबर्जस्ती घुसेर चल्ला बसेको क्रेटमा तातोपानी खन्याएर मारिएको थियो । यसरी भएका चल्ला नष्ट गर्ने र १० दिन उत्पादन नगर्ने संघको निर्णयले देशभर चल्लाको हाकाकार भयो र १० रुपैयाँ प्रतिगोटाको चल्लाको भाउ डेढ महिनामा ६० रुपैयाँ पुग्यो । त्यसभन्दा अघि देशभर रहेका करिब ३ सय ह्याचरी उद्योगले प्रतिसाता ४५ लाख चल्ला उत्पादन गर्दै आएका थिए । बजार माग भने ३५ लाख चल्लाको मात्र थियो ।अहिले ह्याचरी सञ्चालकले चल्लाको भाउ मनपरी ढंगले बढाएका छन । तीन दिनअघि ४० रुपैयाँमा चल्ला किनेका व्यापारीले आइतबार ६० रुपैयाँ मूल्य तिर्नु प¥यो । यो पक्कै पनि न्यायोचित होइन । ।
तर यो कुराको अनुगमन गरेर उपभोक्ताको चुलो सामान्य बनाउन सरकारको चासो कहिले जाने ? जानी जानी उत्पादित चल्ला मारेर बजार महंगो बनाउने ह्याचरी सञ्चालहरुलाई कारवार्हि कसले गर्ने ? के सरकारले जनतालाई यो देशमा सरकार भएको महसुस गराउन नसकेकै हो त ? वा आफु भरपेट भएको सरकार अनि सरकारी निकायलयले जनताको भोको पेटमाथी लात्ता बजारेको हो ?
मुलुकभर समस्यै समस्याको चाङ छ । जनताको चुलो बल्न सक्ने अवस्था छैन तर सरकार भोज भतेरमा व्यस्त छ । नाटक मञ्चन गरेझै बाँसुरी बजाउन मस्त छ । जनताको आवस्यकता पूरा गर्न तिर कसैको ध्यान गएको देखिदैन । विकास भन्दा पनि विनास तिर ध्यान छ । आफुले जनतालाई सामान्य खानेपानी,शिक्षा, स्वास्थ्य र सडक जस्ता समस्याको समाधान गर्न नसक्ने सरकार र सरकारका आसेपासेको ध्यान बरु पुर्खाले बनाएका संरचना भत्काएर नामो निसान मेटाउन तिर गएको छ । के सरकारको काम यहि हो र ? होइन भने पुर्खाको नाम निसान मेटाउनु भन्दा पनि त्यसलाई संरक्षण गरेर राख्न सिक । तिम्रो सान र मानले आकास छुनेछ ।
भिडियोकोलागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved