२० मुलुकमा राजदूत सिफारिस हुँदै, चर्चामा माधव नेपालका बहिनी–ज्वाइँदेखि अधिकारकर्मी वन्दना राणासम्म

  • फाल्गुन ४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं । २० मुलुकमा राजदूत नियुक्ति सिफारिस गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलका शीर्ष नेतासँग मंगलबार छलफल गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रधानमन्त्री देउवाले राजदूत नियुक्ति सिफारिस टुंग्याउन छलफल गरेका हुन्। बैठकमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु पनि सहभागी थिए। 

प्रधानमन्त्रीका सहयोगी भानु देउवाले राजदूत नियुक्ति चाँडै टुंगो लगाउनबारे सत्तारुढ दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले छलफल गरेको बताए। 

‘शीर्ष तहमा आज राजदूत सिफारिसबारे कुराकानी भएको छ। प्रधानमन्त्रीले चाँडै राजदूत सिफारिस गरौँ भन्नुभएको छ’, उनले भने। उनले राजदूत नियुक्तिमा सत्तासाझेदार दलले कति—कति कोटा पाउने भन्ने सहमति जुट्न बाँकी रहेको बताए। 

उक्त बैठकमा संसद् बैठकमा छलफलका लागि पेश गर्न लागिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे पनि कुराकानी भएको थियो। 

राजदूत नियुक्ति सिफारिसको तयारी भएसँगै सत्तारुढ दलका विदेश विभागका सदस्य, कूटनीतिक मामिला जानकार, बुद्धिजीवी, सांसद र पूर्वप्रशासक राजदूत बन्ने दौडमा देखिएका छन्। 

सरकारले चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यान्मार, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियामा राजदूत नियुक्तिको सिफारिस गर्न लागेको हो। 

सामान्यतया प्रस्तावित राजदूतको सूची तयार पार्ने र मन्त्रिपरिषदमा पेस गर्ने काम परराष्ट्र मन्त्रालयको हो। तर चरम दलीयकरणका कारण राजदूत छनौटमा सत्ताधारी दलको तजबिजी चल्ने गरेको छ। परराष्ट्र सेवाका तर्फबाट सिफारिस हुनेको सूचीचाहिँ परराष्ट्रमन्त्री र परराष्ट्र सचिवले तयार गर्ने गरेका छन्।

अहिले राजनीतिक कोटाबाट १३ जना र परराष्ट्र सेवाबाट ७ जनालाई राजदूत नियुक्त गर्न लागिएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच राजदूत नियुक्तिमा भागबण्डा हुनेछ। 

माओवादी केन्द्रबाट पूर्वमुख्यसचिव तथा पूर्वराजदूत लीलामणि पौड्याल, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक रुपक सापकोटा र मानवअधिकारवादी विष्णुपुकार श्रेष्ठ लगायतको नाम प्रस्तावित राजदूतका रुपमा चर्चामा छ। 

पौड्याललाई चीनका लागि राजदूत नियुक्ति सिफारिस गर्ने तयारी छ। सापकोटाले पनि चीनका लागि राजदूतको दाबेदारी प्रस्तुत गरे पनि प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले त्यसमा सकारात्मक जवाफ नदिएको बताइन्छ। 

उत्तरी छिमेकी चीनमा सकेसम्म उमेर र अनुभवमा खारिएको व्यक्तिलाई राजदूत सिफारिस गर्नुपर्नेमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले जोड दिएका थिए। 

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा अवकाशप्राप्त सहसचिव कैलाश पोख्रेलको नाम चर्चामा छ। पोख्रेल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका बहिनी ज्वाइँ हुन्। 

पोख्रेल विगतमा अर्थ मन्त्रालयमा लामो समय काम गरेका सरकारी कर्मचारी हुन्। उनले वासिङटनस्थित नेपाली दूतावासमा इकोनोमिक काउन्सिलरका रुपमा समेत काम गरेका थिए। 

राजदूत नियुक्तिलाई समावेशी बनाउनुपर्ने दबाबमा सरकार छ। संसदीय सुनुवाइ समितिले पटक—पटक राजदूत सिफारिस समावेशी बनाउन सरकारलाई निर्देशन दिइसकेको छ। 

महिलाअधिकारवादी वन्दना राणाको नाम राजदूतको लागि चर्चामा छ। राणालाई जापानका लागि राजदूत सिफारिस गर्न लागिएको चर्चा गरिएको छ। कार्यानुभव र क्षमताका हिसाबले महिला कोटामा उनको छनौट उपयुक्त रहेको माओवादी केन्द्रका विदेश विभागका एक सदस्यले बताए। 

उता सरकारले राजदूत सिफारिसको तयारी गरेपछि परराष्ट्र सेवाका एक दर्जन सहसचिवबीच कडा प्रतिस्पर्धा छ। २० मध्ये ७ मुलुकमा परराष्ट्र सेवाका राजदूत सिफारिस हुने भएपछि मन्त्रालयका अधिकारीहरूबीच प्रतिस्पर्धा देखिएको हो।

सहसचिवहरु निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, लोकबहादुर थापा र तेजबहादुर क्षेत्रीलाई राजदूत सिफारिस गर्न लागिएको मन्त्रालय स्रोतले बतायो। महावाणिज्य दूतावासबाहेक राजदूतावास र संयुक्त राष्ट्रसंघका नियोग गरी विदेशमा नेपालका ३३ नियोग छन्। 

यसमध्ये ५० प्रतिशत नियोगमा परराष्ट्र सेवाबाट नियुक्त गर्ने परम्परा रहिआएको छ। हाल १० वटा नियोगको नेतृत्व परराष्ट्र सेवाका सहसचिवहरूले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved