काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं एमाले सांसद रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे ।
उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए ।‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ’, रावलले भने । आफ्नै पार्टीका सांसदहरुले नाराबाजीसहित वेल घेरीरहँदा छलफलमा सहभागि भएका सांसद रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गरे ।
उनले एमसीसीको विरोधमा उत्रिएका नागरिकमाथि दमन भएको भन्दै सरकारको आलोचनासमेत गरे । ‘सत्ता र कुर्सीका लागि राष्ट्रिय हित विपरीत काम गर्नु सर्वथा गलत छ । व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै हो’, रावलले भने । उनले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने दावी गरे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved