काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधनमा उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउने निर्देशन दिएका हुन्। निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहे स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिए। अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी गरेका छन्।
यस्तै‚ उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको वैधानिकता अन्त्य गर्ने प्रयास गरेको बताएका छन्। ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसिसीको नाममा गठबन्धन तोड्न‚ एकीकृत समाजवादीको वैधानिकता अन्त्य गर्नुपर्ने प्रस्ताव राखेको नेपालको भनाइ छ।
‘अहिले पनि पाँच दलीय सत्ता गठबन्धनका दलको विश्वास कायमै छ। गठबन्धन तोड्न षड्यन्त्र भएको थियो‚’ अध्यक्ष नेपालले भने‚ ‘एमसिसीको नाममा ओलीले प्रधानमन्त्रीसँग गठबन्धन तोड्न, हामी १४ जना र सभामुखलाई कारवाही गर्ने, हाम्रो पार्टीको वैधानिकता अन्त्य गर्नुपर्ने सर्त राखे। त्यसपछि एमसिसीमा निःशर्त समर्थन गर्ने भनेका थिए। तर, हामीले एमसिसीको समस्या समाधान गरेका छौँ।’
उनले स्थानीय तहको निर्वाचन आइसकेको हुनाले त्यहाँ केन्द्रित भएर लाग्न निर्देशन समेत दिएका छन्। ‘यो बैठक महत्वपूर्ण छ। अब हामी निर्वाचनको तयारीमा लाग्नुपर्छ‚’ अध्यक्ष नेपालले भने,‘गठबन्धन दलमा छलफल भइरहेको छ। निर्वाचनमा पनि मिलेर जाने। सबै ठाउँमा नसके जति ठाउँमा सकिन्छ मिलेर जाने। त्यसैले कुन ठाउँमा कस्तो शक्ति कति छ भनेर त्यसको बैठकपछि परिचालित हुनेछौँ। ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा पुग्नुपर्छ।’
देशभर नै अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलिरहेको अध्यक्ष नेपालले दाबी गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै कतिपय मान्छेलाई आफ्नो शक्तिशाली पार्टी नै रहेको भ्रम भएको हुनाले निर्वाचनपछि प्रष्ट हुने बताए। उनले आफूहरुले निर्माण गरेको एमाले केपी ओलीको कब्जामा परेपछि आत्मसमर्पण गर्न नसकेर विद्रोह गरेको बताए।
‘एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी निर्माण गरेको छौँ। हामीले निर्माण गरेको नेकपा एमाले केपी ओली गुटको कब्जामा छ। एमालेमा हामीलाई दुईवटा विकल्प थिए‚’ अध्यक्ष नेपालले भने‚‘ओलीको दक्षिणपन्थी र व्यक्तिवादी सामू हामीले आदेश पालना गरेर आत्मसमर्पण गर्नुपर्थ्यो कित नयाँ बाटोमा जानुपथ्यो। त्यसैले हामीले आट गरेर विद्रोहको बिगुल फुकेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्नतिर लाग्यौं।’
ओलीले पुरै वेवास्ता गरेपछि पनि एकताको निम्ति अनेक प्रयास गर्दा समेत असफल भएको स्मरण गरे। उनले वैधानिक रुपमा कानुन बमोजिम नयाँ पार्टी बनाएको समेत दाबी गरे।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved