काठमाडौं – भोली शुक्ररबार महा शिवरात्री पर्व । काठमाडौंको पशुपतिनाथ लगागत देश भरका शिवालयहरुमा शिवरात्रीको तयारी तिब्र पारिएको छ । पशुनाथमा करिव सबै तयारी पुरा भइसकेको पाशुपत क्षेत्र बिकास कोषले जनाएको छ ।
शिवरात्री हिन्दुहरूको महत्वपूर्ण चाड हो । भगवान शिवको पूजा आराधना गर्ने जोकोहि पनि यस दिन व्रत बसी शिवधुनी जगाएर भगवानको नाम जप्दछन् । सबैको कल्याणको लागि शिव पुकार्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा समेत वर्णन गरिएकोले यस पर्वको निकै ठूलो महत्व छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यतिमात्रै होईन देशभरका शिवालयमा धुमधामसँग शिवधुनी जगाई भजन किर्तन गरी श्रद्धा भावले आफूलाई पूजाआरधनामा समर्पण गरीन्छ ।
आरोग्यदेव पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष नेपाली र भारत लगायतका अन्य विभिन्न देशहरुबाट हजारौँको संख्यामा भक्तजनहरु आउने गरेका छन् । भारतबाट हरेक वर्ष नागा बाबाहरु पनि पशुपति नाथमा आउने गर्छन् । खासगरी भित्र जान नपाएपनि पशुपतिनाथमा टहल्न र नेपाली कला संस्कृति बुझ्न अन्य देशका पर्यटकको पनि बाक्लो घुईचो लाग्छ ।
यसैबीच यसपाली जाज्वल्यमान पशुपतिनाथको मन्दिरमा नयाँ दृश्य देख्न पाईने भएको छ । भक्तजनको लामो लाईन, मानिसहरुको भिड, भिक्षु, साधु सन्त, स्वदेशी विदेशी पर्यटक, यूवाहरु व्यापारी हामीले देखेकै हौँ । महाशिवरात्रीका अवसरमा पशुपतिनगरिने सिंगारपटार पनि केहि हदसम्म नियालेका छौँ तर यसपाली पशुपतिनाथमा तपाईले केहि खास पाउनुहुनेछ । हो, शिवरात्रीका अवसरमा दुई भक्तजनले पशुपतिनाथ मन्दिर र आसपासमा फूलले सजाउने भएका छन् ।
पर्यटन वर्षलाई पनि टेवा पुग्ने र भगवान्को पाउमा यतिको पूण्य गर्न पाउने अवसरको सदुपयोग गर्न विभिन्न सम्बन्धित निकायबाट अनुमति लिएर भारतबाट आएका ग्लेजटेड्रिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले पशुपति क्षेत्रमा यति भव्य ढंगले फूलले सजाउन लागेका छन् । मन्दिरका मूलभट्ट गणेश भट्टलाई भेट्न आएका छिब्बर र शर्माले यो प्रस्ताव राखेपछि कोषले स्वीकृति दिएको हो ।
उनीहरुले उत्साहित हुँदै सातवटा फूलका गेट र अन्य विभिन्न आकार प्रयोग गरी पाशुपत क्षेत्रलाई करिब दुई करोड रुपैयाँको फूलले पाशुपत क्षेत्र झकिझकाउ बनाउन लागेका हुन् । पशुपतिनाथप्रतिको आस्था र निष्ठाका लागि भक्तजनले थालेको प्रयास नौलो हो ।
छिब्बर र शर्माले अस्ट्रेलिया, कोरिया, थाइल्याण्ड र भारतबाट करिब दुई करोड बराबरका अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया लगायत विभिन्न जात र रङका फूल ल्याएर झिलीमिली बनाउन लागेका हुन् ।
पशुपतिनाथको जाज्वलयमा प्राकृतिक फूलको प्रयोगले झकिझकाउ पार्न भारतबाट दुई सय जनशक्ति काठमाडौं आई सोमबारदेखि बिहीबारसम्म सजाउनेछन् । ति फूलहरु तीन दिनसम्म रहनेछन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved