काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भएको उम्मेदवारी मनोनयनको पूर्ण विवरण अझै प्रकाशन गर्न सकेको छैन ।
आयोगको पछिल्लो विवरणअनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा डेढ लाखभन्दा बढीको उम्मेदवारी परेको छ । कुल ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको हो ।
यो संख्या मंगलबार बेलुकी ९ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ । विवरणअनुसार नगर, उपमहानगर, महानगर प्रमुखमा ३ हजार ४६६ र उपप्रमुखमा २ हजार १३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ३ हजार ३७८ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ ।
यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडासदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । अधिकांश विवरण आए पनि केही स्थानमा तथ्यांक संकलन गर्ने क्रम अझै चलिरहेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved