काठमाडौं । जसपाका नेता डा.बाबुराम भट्टराईले मत हाल्नुभएको मतदान केन्द्रका मतदान अधिकृतलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएका भट्टराईले मत सङ्केत गरेको मतपत्र सार्वजनिक गरेका थिए । आयोगले त्यो केन्द्रका मतदान अधिकृत प्रदीपकुमार शर्मा रुपाखेतीलाई मोबाइल र क्यामेरा लैजान निषेध गरिएको क्षेत्रमा भट्टराईले फोटो खिच्न कसरी सम्भव भयो भनेर यथाशीघ्र स्पष्ट पार्न भनेको हो ।
आयोगले भट्टराईले के कसरी निषेधित स्थानमा फोटो लिने अर्को व्यक्ति र फोटो लिने सामग्री क्यामेरा वा मोबाइल लानुभयो भनेर मतदान अधिकृत रुपाखेतीलाई प्रश्न गरेको छ । यस्तै आयोगले भट्टराईले फोटो लिने सामग्री मोबाइल वा क्यामेरा साथमा लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन भनेर स्पष्ट पार्न भनेको छ ।
भट्टराईले मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगी मतपत्रमा गोप्य मत सङ्केतको फोटो खिचेको भए उहाँलाई तत्काल निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ को उपदफा (२) बमोजिम किन कारबाही गर्नुभएन ? भनेर पनि अन्नपूर्ण मावि मतदान केन्द्रका मतदान अधिकृतलाई प्रश्न सोधेको छ । यसअघि आयोगले भट्टराईलाई पनि स्पष्टीकरण सोधेको छ ।
भट्टराईले आफ्नो ट्विटर ह्यान्डलबाट मतदान गरेको फोटो सार्वजनिक गर्दै लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार वा मत खुला रूपमा व्यक्त गर्न पाउनु हो भनेका छन् । मतदान भनेको गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन भन्ने उनको जिकिर छ ।
देशको पूर्वप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफूले मतदान गरेको मत सङ्केत सार्वजनिक गरी निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ को उपदफा (१) को जानाजान उल्लङ्घन गरेको आयोगले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved