काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । स्थानीय यार्सागुम्बा संकलक किसानमार्फत दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा खटिएको टोली त्यहाँसम्म पुग्न सकेको थिएन । सोमबार बिहान त्यही क्षेत्रमा दुर्घटनाग्रस्त जहाज किसानहरुले फेला पारेको शर्माले बताए । उनका अनुसार मानापाथी हिमालको फेदीमा २८ कात्तिकमा हिमपहिरो गएकै स्थान नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो । ‘त्यहाँको तस्वीर प्राप्त भएपछि हवाई उद्धार टोली पठाइएको छ ।’ स्थानीय इन्द्रसिंङ शेरच लगायतको टोली घटनास्थलमा पुगेको छ ।
उनका अनुसार विमान क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’ उनी राती नै त्यसतर्फ गएका हुन् । विमानमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved