काठमाडौं । आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।
यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो ।
सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै कामपालाई केही दिन फोहरको गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागेको हो ।
आजदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।
कामपाले हिजो एक सूचना जारी गर्दै सोही अवधिमा आ(आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि अपिल गरेको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved