फाइल तस्बिर
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् । आज सोमवार सङ्घीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानवअधिकार समितिस् अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरूको गणपूरक सङ्ख्या नपुग्दा मङ्गलवारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो । सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठेरो भइरहेको बताए । उनले संसदमा विधेयक पास गर्नका लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानुन छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ रु कति मेहनत र परिश्रम ग¥यौँ, त्यो मूल्याङ्कनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कति पटक घण्टी बजाउनुपरेको छ विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ मन्त्रीहरू बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’
सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएको हो वा होइनन् भन्ने कुरा स्वयम् समितिले आत्मालोचना गर्नुपर्ने बताए। देशको धरातलीय यथार्थ अनुकूल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको उनको भनाइ छ ।
सभामुख सापकोटाले सरकार उदीयमान व्यवस्थापिकाको पक्षमा रहेको बताए। उनले सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिए। सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्विडेन, जर्मनीका समितिहरू धेरै शक्तिशाली रहेको बताए। त्यहाँका समितिहरू कानुन निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको उाले बताए। नेपालमा खोज, अनुसन्धानमा आवश्यक ध्यान नपुगेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved