वीपीपछि समाजवादको मुख्य खम्बा बौद्धिक नेता प्रदिप गिरि

  • भदौ ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रखर वक्ता एवम् समाजवादी चिन्तक प्रदीप गिरि यस्तो नाम हो जसमा विपक्षीहरुले समेत श्रद्धाले शिर निहुराउँछन् । अहम् र तिक्ततापूर्ण राजनीति रहेको नेपालमा गिरिको नाममा जोकोहीले पनि सम्मान प्रकट गर्ने गर्छन् । नेपाली कांग्रेसभित्रका कम्युनिस्ट चरित्रको नेताका रुपमा पनि चिनिने गिरिलाई सोच र व्यवहारमा समाजवादी नेता मानिन्छ । उहाँको हिजो शनिवार राति उपचारको क्रममा निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो हप्ता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना गरिएको थियो । पछिल्ला दिनहरुमा निमोनिया फैलिँदै गएर शरीरका अङ्गहरुले काम गर्न छाड्दै गएको थियो ।

नेपाली कांग्रेसको प्रमुख सिद्धान्त मानिने प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषण र यस विचारधारालाई अगाडि बढाउने काम वीपीपछि कसैले गरेको छ भने त्यसको एकमात्र श्रेय प्रदीप गिरिलाई जान्छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाड्दै गएकोमा उहाँ पछिल्लो समय चिन्तित हुनुहुन्थ्यो । तर, पार्टीभित्र पनि प्रतिपक्षीको भूमिका निभाएर पार्टीमा हुने गरेका विकृति, विसङ्गतिका बारेमा उहाँले सधैँ आवाज उठाइरहनुभयो ।

२००४ सालमा सिरहामा जन्मिनु भएका गिरिले जवाहरलाल नेहरु विश्वविद्यालय, काशी हिन्दु विश्वविद्यालयमा अध्ययन गर्नुभयो । उहाँ स्वयम् खुला विश्वविद्यालय हुनुहुन्थ्यो । कुनै पनि विषयमा लगातार बौद्धिक तर्क, छलफल र चिन्तन गरेर नथाक्ने गिरि आफैँमा इन्साक्लोपेडिया हुनुहुन्थ्यो ।

सिरहामा उहाँको निवास अर्थात आश्रममा पुस्तकालय, सामुदायिक रेडियो, दलित बालबालिकाहरुको लागि पढ्ने व्यवस्था, कम्प्युटर कक्षा आदिको लागि तालिमसमेतको व्यवस्था छ । हरियालीलाई विचार गरेर रुखहरु पनि रोपिएका छन् ।

२०५१ सालको आम निर्वाचनमा सिरहाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका गिरि पहिलो र दोस्रो संविधान सभा चुनावमा नेपाली कांग्रेसकातर्फबाट समानुपातिक सभासदसमेत हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसका तर्फबाट वर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुनुहुन्थ्यो ।

२०१७ सालदेखि राजनीतिमा सक्रिय गिरिले राजनीतिक सङ्घर्षको दौरान २०२५ सालमा १८ महिना तथा २०४२ सालमा झण्डै एक वर्ष जेल जीवन बिताउनु भएको थियो । नागरिक हक अधिकारका लागि सधैँ सक्रिय गिरि महिला, जनजाति, दलितको मुद्दामासमेत खरो रुपमा प्रस्तुत हुनुहुन्थ्यो । गिरिले मधेसी नागरिकको उपेक्षा भएको ठानेर संविधानमा हस्ताक्षर गर्नु भएको थिएन ।

वरिष्ठ पत्रकार किशोर नेपालको नजरमा गिरि

उहाँ एक असाधारण बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले जहिले पनि साना काम गरेर ठूला लक्ष्य पूरा गर्ने उद्देश्य राख्नुभयो । आफूलाई चित्त नबुझेको कुरामा विमति जनाउने तथा पढ्ने, लेख्ने र सैद्धान्तिक कुरामा उहाँ जहिले पनि अगाडि हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसमा वीपी कोइराला आफैँ प्रजातान्त्रिक समाजवादी हुनहुन्थ्यो । वीपीपछि नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजवादको मुख्य खम्बा उहाँ नै हुनुहुन्थ्यो । वीपीपछि कांग्रेसमा समाजवादी लिगेसी बोक्ने गिरि नै हुनुहुन्थ्यो । उहाँ त्यसमा नै टिकेर बसिरहनु भयो ।

उहाँले पछिल्लो संविधानमा सहमत नभएका कारण हस्ताक्षर गर्नुभएन । उहाँ आफूलाई चित्त नबुझेको कुरामा कठोर विमति राख्नुहुन्थ्यो । गिरिपछि कांग्रेसभित्र समाजवादी चिन्तन राख्ने युवा, तन्नेरीहरु बसेर छलफल गरेर एउटा चौतारी जस्तो खडा गरे भने कांग्रेसको समाजवाद जीवित रहला । नत्र अहिले कांग्रेसमा समाजवाद मरिसक्यो । त्यहाँ केवल बजारवाद मात्र हावी छ ।

व्यक्तिगत हिसाबका कुरा गर्दा उहाँ एकदमै शान्त र सरल मानिस हुनुहुन्थ्यो । उहाँबाट माया बाहेक मैले केही पनि पाइनँ ।

विश्लेषक प्रा. कृष्ण खनालको नजरमा गिरि

प्रदीपजीको दुईरतीनवटा कुरा मलाई विशिष्ट लाग्छन् । एउटा नेपाली कांग्रेसमा वीपीपछि समाजवादको चिन्तन गर्ने व्याख्या गर्ने नै प्रदीपजी जस्तो लाग्छ मलाई । त्यति प्रखर रुपमा वीपीपछि समाजवादको व्याख्या गरेको पाइँदैन । जति प्रष्ट र प्रभावकारी रुपबाट उहाँले समाजवादको व्याख्या गर्नुहुन्छ अरुले त्यसो गरेको पाइँदैन ।

नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजवादको दाबी गर्ने मानिसहरु त जति पनि छन् । पार्टीको अघोषित नीतिको रुपमा समाजवाद अझ पनि छँदैछ । त्यसको व्याख्या गर्ने मान्छे वीपीपछि प्रदीप गिरि नै हो जस्तो लाग्छ मलाई ।

दोस्रो पछिल्लो चरणमा आउँदाखेरि प्रदीपको भनाइमा देशको समस्या, समसामयिक र राजनीतिक समस्या पार्टीको एउटा दायराभन्दा निकै माथि उठ्न थालेको थियो । पार्टीको दायरामा, पार्टीको नीतिमा सीमित थिएन । एउटा विवेकको बोली, आफूलाई लागेको, आफ्नो अध्ययन, अनुभव र आफ्नो विवेकले देखेको कुरा एकदमै प्रष्टसँग भन्न सक्ने मान्छे हो । संसदमा पनि, संसद् बाहिर पनि र पार्टीभित्र पनि ।

सार्वजनिक खपत, सार्वजनिक लोकप्रियताका लागि नभइ यथार्थ रुपमा आफ्ना दृष्टिकोणहरुलाई पार्टीको सीमित घेराभन्दा माथि उठेर भन्न सक्ने एउटा व्यक्तित्व प्रदीप गिरिमा पाइन्छ । यी भनेको उहाँको टड्कारो देखिने विशेषता हो ।

उहाँले संविधानमा हस्ताक्षर नगर्नु आफ्नो, चेतना, आफ्नो विवेकको व्यवहार हो । यसमा उहाँले प्रष्टरुपमा कहीँ बोलेको अनि मैले यो कारणले हस्ताक्षर गरिनँ भनेर भन्नु भएको मलाई थाहा छैन । तर, हामीले सजिलै बुझ्ने कुरा के हो भने उहाँको दृष्टिले, उहाँको विवेकले संविधान उहाँलाई स्वीकार्य भएन ।

एमाले नेता युवराज ज्ञवालीको नजरमा गिरि

नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ प्रदीप गिरि । उहाँ धेरै अध्ययनशील, विद्वान, तर्कशील अनि लोकतान्त्रिक मूल्य मान्यतमा दृढ तथा प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसभित्रका विकृति, विसङ्गति तथा गलत कुराहरुलाई खण्डन गर्ने, सुझाव दिने एउटा प्रजातान्त्रिक समाजवादी विचार भएको मानिस हो । वीपीको प्रजातान्त्रिक समाजवादको जुन मान्यता हो त्यसलाई पछ्याउने नेता तथा बौद्धिक व्यक्तित्वको रुपमा मैले बुझेको छु ।

हाम्रा कतिपय विषयमा मतान्तर भए पनि उहाँलाई नेपालको राजनीतिमा सम्मानित नेताको रुपमा मान्नुपर्छ । खासगरी वैचारिक रुपमा एकदमै प्रखर र सशक्त व्यक्तिको रुपमा मैले बुझेको छु । उहाँ कम्युनिस्ट होइन, तर नेपाली कांग्रेसभित्र प्रगतिशील विचार राख्ने कांग्रेसभित्रको वामपन्थी हो । वामपन्थी, प्रगतिशील तथा अग्रगामी सोच भएको व्यक्तित्व हो उहाँ ।

यथास्थितिवादी जुन सोच अनि दृष्टिकोणहरु छ र उदार पुँजीवादी मान्यताको विपक्षमा हो उहाँ । अहिलेको समसामयिक विश्व राजनीतिमा जुन पुँजीवादी विचार छ त्यसमा परिमार्जन गर्नुपर्छ, अलिकति परिष्कृत गर्नुपर्छ, बढी जनपक्षीय हुनुपर्छ, साँचो अर्थमा लोकतान्त्रिक हुनुपर्छ र समाजवादी हुनुपर्छ भन्ने उहाँको मान्यता हो ।

उहाँ साम्यवादको विपक्षमा हो तर पनि कयौँ कुराहरु उहाँको कम्युनिस्टसँग मिल्छ । तर, उहाँ आफैँ कम्युनिस्ट होइन । उहाँ कांग्रेस नै हो तर, कांग्रेसमा जुन खालको अलिकति यथास्थितिवादी, कतिपय कुरामा पश्चगामी सोचहरु, विकृति, विसङ्गति अनि भ्रष्ट मनोवृत्ति छ त्यसको उहाँ प्रखर विरोधी हो । उहाँले सदैव पार्टीभित्र यस्ता कुराहरुको आलोचना गर्नुभयो र समाजलाई अगाडि बढाउनुपर्छ, अग्रगामी दिशामा, परिवर्तनको दिशामा जानुपर्छ भन्ने उहाँको मान्यता हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नजरमा गिरि

प्रदिप गिरी समकालीन नेपाली समाजका एक बौद्धिक, निष्ठाको राजनीति गर्ने एक सादगी व्यक्तित्व हुनुहुन्छ। जसले यसरी पनि राजनीति गर्न सकिन्छ भन्ने पाठ मात्र सिकाइ मात्र रहनु भएको थिएन, राजनीतिलाई सतही रुपमा लिने हाम्रो चिन्तनलाई पुनर्विचार गर्न अभिप्रेरित गरिरहनु भएको छ।

संसद भवनमा आम भुइँ मान्छेका विषयलाई विकल्पसहितको बुलन्द आवाज उठाएर होस् वा जटिल परिस्थितिमा रुमल्लिहरने राजनीतिका दर्शनलाई सरलीकृत रुपमा सपाट ढंगले उठाइरहँदा होस् यीनै कारणले नेपाली राजनीतिज्ञहरूको पहिलो नम्बरमा प्रदिप गिरि रहनु भएको छ।
नेपाली काँग्रेसका नेता, चिन्तक, प्रखर वक्ता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको देहावसानको समाचारले स्तब्ध र दुःखी छु।
नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा दिवंगत गिरीको सदा सम्झना भईरहनेछ।

पूर्व सभामुख दमननाथ ढुङ्गानाको नजरमा रिगर

प्रदीप गिरिको योगदानको बहुआयाम छ । उहाँ विचारक हो । साधक हो । विचारका लागि धेरै नै सङ्घर्ष गरेको व्यक्ति हुनुहुन्छ । उहाँ राजनीतिमा पटक पटक सांसद भए पनि कहिल्यै पनि मन्त्री हुने वा सत्ताको दौडमा लाग्ने आतुरता वा प्यास देखाउनु भएन । यस अर्थमा उहाँ उद्देश्य प्रेरित, गान्धीवादी, समाजवादी हो । तर, त्यो समाजवादको चुरो भनेको उहाँको स्वतन्त्रता हो । व्यक्तिको, समाजको, राष्ट्रको स्वतन्त्रता हो । त्यो स्वतन्त्रताको पक्षले नै उहाँलाई जिन्दगिभरी डोर्याएको हो ।

किशोरावस्थादेखि नै प्रजातान्त्रिक पुनर्स्थापना अभियानमा लाग्नु भएको हो । मैले पनि २०१७ सालमा स्वतन्त्र विद्यार्थी युनियनबाट आफ्नो व्यक्तित्वको प्रारम्भिक जग हालेको व्यक्तित्व हुँ । उहाँले त्यो काम बनारसबाट गर्नुभयो । उहाँ त्यसपछि डीएसवाइएल भन्ने युवाहरुको समाजवादी सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो । उहाँको निरन्तरता र योगदान प्रजातान्त्रिक आन्दोलनमा निकै सहयोगी अन्तरवस्तु भएर रहेको छ ।

वीपी कोइरालापछि उहाँको विचारक प्रजातान्त्रिक समाजवादको अर्को भएन । यही समाजवाद लागू गर्न भनेर गिरि जुन पार्टीमा लाग्नुभयो नेपाली कांग्रेस जो उहाँको प्रिय पार्टी पनि हो भने समाजवाद लागू गर्न नसकेकोमा उहाँको अप्रियताको विषयवस्तु पनि नेपाली कांग्रेस नै भयो ।

वीपीपछि नेपाली कांग्रेसले समाजवादलाई अगाडि बढाउन सकेन त्यो नै उहाँको चिन्ताको विषय थियो । तर, पनि उहाँले नेपाली कांग्रेस छोड्नु भएन र पार्टीमार्फत नै आफ्नो विचार प्रसार गरिरहनु भयो । पार्टीलाई मार्गनिर्देशन गरिरहनु भयो । समाजवाद पक्ष अल्पसङ्ख्यक विचार भयो । पार्टीले कार्यक्रममा उतार्न सकेन । त्यसमा उहाँलाई दुःख थियो । तर, पनि उहाँ विचलित हुनु भएन । निरन्तर समाजवादी विचारको महत्त्व दर्शाइरहनु भयो । त्यसको पक्षमा बोलिरहनु भयो । पार्टीमा आफ्नो विचार राखिरहनु भयो । त्यस अर्थमा ठूलो लडाकु हो उहाँ ।

२०१७ सालपछिको लोकतान्त्रिक आन्दोलनलाई फर्केर हेर्ने हो भने आन्दोलन जोगाएको, बचाएको, पछि पुनर्स्थापना गरेको लोकतन्त्र पनि युवा विद्यार्थीहरुकै आन्दोलन हो । त्यसको एउटा शीर्ष नायक हुनुहुन्छ प्रदीप गिरि । देशमा लोकतान्त्रिक संस्कृति निर्माण र विकास गर्नेमा उहाँको ठूलो योगदान छ । त्यो दिशाको उहाँ ठूलो साधक तथा योद्धा हो ।

उहाँ पार्टी अनुशासनभन्दा माथि उठेको मान्छे हो । पार्टीले संविधानका बेला सबैले सही गर्नुपर्छ भनेको थियो । उहाँले सही गर्नु भएन । तर पनि उहाँलाई सही किन गरिनस् भनेर कसैले प्रश्न गरेन । त्यो उहाँको मौलिकता हो । आलोचना गर्ने विषय होइन । उहाँ पार्टीमा रहे पनि पार्टी भित्रको स्वतन्त्र व्यक्ति हो । संविधान जुन तरिकाले बनाइयो, जुन किसिमका विषयवस्तुहरु रहे त्यो उहाँलाई स्वीकार्य भएन । यो कदम उहाँको जीवनकै एउटा सशक्त पक्षको रुपमा लिनुपर्छ । यसलाई आलोचनाको विषय बनाउनु हुँदैन ।

नेपाली कांग्रेस नेता महेश आचार्य

उहाँ एक अध्ययनशील, पार्टीको विचारक, पार्टीको सैद्धान्तिक पक्षहरुलाई राम्रोसँग जनताका माझमा लैजानसक्ने नेता हुनुहुन्थ्यो । विभिन्न पार्टीको नेता पङ्क्तिसँग कांग्रेसको वैचारिक पक्षको बारेमा छलफल गर्न सक्ने सामर्थ्य भएको एउटा विचारवान नेताको रुपमा प्रदीपजी चिनिनुहुन्छ ।

उहाँ प्रजातान्त्रिक समाजवादको पक्षमा निरन्तर अध्ययन गरिरहनु भएको, त्यो विचारलाई अगाडि सारिरहनु भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले जहिले पनि पार्टीका फोरमहरुमा बोल्दा, सार्वजनिक मञ्चहरुमा बोल्दा तथा समानताको महान आन्दोलनको प्रेरणा जजस्ले प्रजातान्त्रिक समाजवादको निर्देशित गर्छ त्यसको पक्षमा बोल्ने विचारकको रुपमा उहाँ चिनिनुहुन्छ । उहाँको परिचय प्रदीप गिरि भन्ने बित्तिकै एउटा प्रखर समाजवादी चिन्तकको परिचय प्रकट भएर आउँछ । हामीले त्यसरी नै बुझ्यौँ । त्यसरी नै देख्यौँ । त्यसरी नै उहाँको व्यक्तित्वको निर्माण भएको अनुभव हामीलाई भएको छ ।

संविधानमा हस्ताक्षर नगरेको विषयमा उहाँले संसदमा नै आफ्नो कुरा राख्नु भएको म सम्झन्छु । प्रदीपजी उदार चित्तको नेता हुनुहुन्छ । समानताको एउटा अजस्र श्रोत, एउटा प्रेरणा उहाँ भित्र थियो । त्यसैले उहाँ नेपालको सबै समुदायको, आन्दोलनरत सबै पक्षको चित्त बुझ्ने गरी संविधानको लेखन, प्रयोग, कार्यान्वयन होस् भन्ने चाहना र चेतना उहाँमा भरपूर थियो भन्ने कुरा मैले उहाँका कुराहरु सुन्दा, उहाँसँग छलफल गर्दा, उहाँका विचार सार्वजनिक हुँदा बुझेको सत्य चाहिँ त्यही हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved