काठमाडौं । आगामी माघ २५ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि यहि पुस २५ गतेदेखि २८ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८ वटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका छन्।
लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । आयोगका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले बिहिबार निवेदन दिएका हुन् ।
यसअघि नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दर्ता गराएका थिए । आयोगले उपनिर्वाचनका लागि माघ ११ गते उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यलाई मताधिकार हुन्छ ।
लुम्बिनी प्रदेशको स्थानीय तह र प्रदेश सभामा प्रतिनिधित्व रहेपनि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले भने उपनिर्वाचनमा भाग लिन निवेदन दर्ता गराएनन् । एमालेका तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गत असोज २३ गते राजीनामा दिएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लगेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved