काठमाडौं । आज विश्व मुटु दिवस। हरेक वर्षको सेप्टेम्बर २९ मा विश्वभर मुटु दिवस मनाइँदै आइएको छ। नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। यता नेपालमा पनि दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ । जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ । मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको चिकित्सकको भनाइ छ ।
जीवनशैली र खानपानमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिन्छ भने मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने चिकित्सकहरुको भनाइ छ ।
धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्बोहाइडे«डजन्य चीज कम खानाले मुटुरोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । मुटुरोगबाट बच्नका लागि भात, आलु, बोसोजन्य मासु, र चिल्लोपदार्थ कम खानुपर्ने चिकित्सकहरु बताउछन् ।
त्यसैगरी फलफूल र सागपात बढी मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्ने, दिनमा कम्तीमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने र वर्षको एक पटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकहरुको धारणा छ।
रगत, पिसाब जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्थाभन्दा फरक सङ्केत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन पर्छ । यसमा जुनसुकै उमेर समूहका नागरिक पनि सचेत हुनुपर्ने र आफ्नो स्वास्थ्यप्रति थोरै मात्र सचेत र सजग हुने हो भने पनि संवेदनशील अङ्ग मुटुरोगबाट बच्न सकिन्छ ।
आवश्यक जनशक्तिको अभाव र सरकारको नीति नियमको कमी कमजोरीका कारणले सबै तहका नागरिकसम्म मुटुरोग उपचारको पहुँच पुग्न नसकेको अवस्था भएपनि मुटुसम्बन्धी जस्तोसुकै रोगको उपचार र शल्यक्रिया भने नेपालमै उपलब्ध छ । यसमा विपन्न नागरिकलाई राज्यले केही सहुलियत दिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved