पदीय दुरुपयोग गर्ने अध्यागमनकी कर्मचारीलाई कारबाही गर्न ब्युटीसियन संघको माग

  • फाल्गुन १७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । पदीय दुरुपयोग गरी ब्युटीसियन व्यवसायीमाथि अनावश्यक दबाब सृजना गरेको भन्दै नेपाल ब्युटिसियन संघले अध्यागमन विभागकी कर्मचारी बन्दना कर्णलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी संघले कर्मचारी कर्णलाई कारबाही गर्न अनुरोध गरेको हो । सरकारी पदको दुरुपयोग गरी कर्णले फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महरालाई बारम्बार दबाब सृजना गरी मानसिक तनाव दिएको संघले जनाएको छ ।

संघले सरकारी पदको दुरुपयोग गरी व्यवसायीमाथि अनर्गल प्रचार नगर्न चेतावनी पनि दिएको छ । पत्रकार सम्मेलनमा ब्युटिसियन संघकी अध्यक्ष सरिता गौतमले मेलमिलाप भइसकेको तथा अदालतले समेत फैसला गरिसकेको विषयलाई पुन: व्युँताएर नियतबस आफूहरूको पेसामाथि प्रहार गर्न खोजेको बताइन् ।

उनले जस्तोसुकै अवस्थामा पनि आफूहरू व्यावसायिक हकहितका लागि निडर भएर लागिरहने प्रतिबद्धता व्यक्त गरिन् । ‘सुष्मा महराजस्ता समस्यामा परेका दिदीबहिनीहरुको पेसागत हकहितका लागि आवाज उठाउन हामी सधैँ तयार छौँ । पेसागत हकहितका लागि जहाँ गएर आवाज उठाउन पनि तयार छौँ र जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौँ,’ उनले भनिन् ।

न्याय पाइसकेकी एक जना व्यवसायीमाथि बारम्बार यो वा त्यो बाहानामा प्रहार भइरहनुले आम व्यवसायी निरुत्साहित हुने खतरा बढेको भन्दै उनले कर्णलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरिन् । व्यवसायीलाई समस्या पर्दा पेसागत हितका लागि संघले जहिल्यै सहयोग गर्ने बताउँदै उनले अन्याय र ज्यादतीविरुद्ध सुष्मा महराझैं निडर र साहसी बन्न ब्युटीसियनहरूलाई आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा ब्युटीसियन संघकी निवर्तमान अध्यक्ष भगवती खड्का, निर्वतमान उपाध्यक्षद्वय कल्पना आचार्य र गंगा नकर्मी तथा संघकी महासचिव शशी शाहलगायतले श्रम गरेर जीविकोपार्जन गर्ने ब्युटीसियनहरू कसैको धम्कीबाट नडराउने स्पष्ट गर्दै सरकारले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए । आफूहरू कर तिर्ने व्यवसायी भएको र त्यही करबाट तनाखा बुझ्नेहरूबाट दिनप्रतिदिन धाकधम्की र अनुचित प्रहार हुनु दु:खद घटना भएको बताए ।

फेसियल हाउसमा घटेको घटना प्रतिनिधि मात्रै भएको बताउँदै उनीहरूले अब आफूहरू नेपालभरका ब्युटिसियनहरुलाई हामी एक्लै छैनौं भन्ने सन्देश दिनेगरी काम गर्ने चरणमा पुगेको स्पष्ट गरे । फेसियल हाउसका श्रमिकहरूलाई दुर्व्यवहार गरेको घटनामा आफूहरुले विभिन्न निकायमा आवाज उठाएको तथा सडक आन्दोलन समेत गर्नुपरेको स्मरण गर्दै अन्तत: आफूहरुलाई यही फागुन १० गते उच्च अदालत पाटनले न्याय दिएको उनीहरूले बताए ।

यस्तै, फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटीसियन सुष्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाउँदा पनि सुख नपाएको बताइन् । ‘न्यायालयले मलाई न्याय दिइसकेको छ । तर, कर्णले न्याय नमान्ने तथा प्रहरीको आग्रह समेत नसुनी मलाई अझै धाकधम्की दिइरहनुभएको छ । यसले मलाई विच्छिप्त तुल्याएको छ ।’ आफूमाथि विभिन्न खालको धम्की दिएर दुर्व्यवहार गरी राज्यको पहुँचबाट पेसाको बद्नाम गर्न खोजिरहेको उनको भनाइ छ ।

कर्णले आफैले दायर गरेको मुद्दामा आवश्यक प्रमारण जुटाउन नसक्दा अदालतले आफ्नो पक्षमा फैसला गरिसकेको स्मरण गर्दै महराले अब उक्त मुद्दामा कुनै प्रश्न नै उठाउन नपाउने स्पष्ट गरिन् ।

यस्तो हो विवाद र समस्या

गत असार २७ गते दिउँसो कार्यालय समयमा फेसियल हाउसको आउटलेट चाबाहिलस्थित केएल टावरमा आएर सेवा लिएकी अध्यागमन विभागकी शाखा अधिकृत बन्दना कर्णले सेवा लिएपछि सेवाशुल्क तिर्नेबेला लफडा निकालिन् ।

फेसियल हाउस नै बन्द गराउँछु भनेर उनले तत्काल प्रहरीलाई बोलाइन् । प्रहरीले दुबै पक्षलाई प्रहरी कार्यालय गौशालामा लगी मिलापत्र गरेर पठाइदियो । तर, कर्ण त्यत्तिकैमा रोकिइनन्, उनले आफ्नो पदको दुरुपयोग गरी महरालाई जसरी पनि पक्राउ गर्नुपर्ने दबाब सृजना गर्दै मिलापत्र भइसकेको विषयमा पुन: प्रहरी कार्यालयमा अर्को उजुरी दर्ता गरी पक्राउ पुर्जी जारी गराइन् ।

कर्णको यो रवैयापछि सुष्मा महराले न्यायका लागि उच्च अदालत पाटनमा निवेदन दर्ता गराइन् । निवेदनउपर उच्च अदालतले कर्णको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै महराको पक्षमा फैसला दियो । त्यसपछि पनि अदालती फैसलाको अवज्ञा हुनेगरी कर्णले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा चलाइ पक्राउ गराउन खोजेपछि ब्युटीसियन महरा पुन: उच्च अदालत पुगिन् ।

उक्त निवेदनउपर उच्च अदालतले दोस्रो पटक पनि महराकै पक्षमा अन्तरिम आदेश दिएको छ । ‘निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सन्दर्भमा हेर्दा निवेदक (सुष्मा महरा)ले सञ्चालन गरेको फेसियल हाउस प्रालिको ‘कमन पार्लर सर्भिस रुम’ मा जडान भएको सीसीटीभीमा कैद भएको दृश्य फुटेजको विषयलाई लिएर यिनै निवेदकले विपक्षी बन्दना कर्ण समेत उपर यसै अदालतमा २०८०–डब्ल्यूओ–००१६ को निषेधाज्ञाको निवेदन दिई यस अदालतबाट मिति २०८०–०८–२० मा सो सीसीटीभी फुटेजमा विपक्षी बन्दना कर्णले कपडा फेर्दा कैद भएको दृश्यको विषयमा कुनै कारबाही नगर्नू भनी निषेधाज्ञा आदेश जारी भइरहेको देखिएको र पुन: विपक्षी पजल्ला प्रशासन कार्यालयबाट सोही विषयमा निवेदकलाई पक्राउ गर्ने, बयान गराउने समेतको कार्य गर्न लागेको भनी निवेदक (महरा)ले निवेदनमा उल्लेख गरेको देखियो ।

तसर्थ यस अदालतबाट मिति २०८०–०८–२० मा भएको आदेश बमोजिमको सीसीटीभीको फुटेजको विषयलाई नै लिएर यी निवेदकलाई पक्राउ गर्ने, थुन्नेलगायतको कार्य नगर्नू/नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरी दिएको छ । आदेशको जानकारी विपक्षीहरूलाइै गराउनू,’ आदेशमा भनिएको छ ।

सबैतिर मुद्दा हारेपछि कर्णले महरालाई विभिन्न धाकधम्की दिँदै मानसिक तनाव दिन थालेकी छिन् । त्यसविरुद्ध नेपाल ब्युटीसियन संघले आज पत्रकार सम्मेलन गरी सरकारसँग व्यवसायीको सुरक्षा माग गरेको छ । साथै बारम्बार तनाव दिँदै आएकी शाखा अधिकृत कर्णलाई कारबाही गर्न माग समेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved