काठमाडाैं । नेपाल–भारतबीचकोे महाकाली सन्धि भएको २६ वर्ष बितिसकेको छ। तर, नेपालले महाकालीको पानी उपभोग गर्न पाएको छैन। नहर निर्माणमा ढिलाई हुँदा टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी २६ वर्ष बितिसक्दा पनि पाउन नसकेको हो।
२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो। सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ।
यो पानी उपयोग गर्नका लागि नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नु पर्छ। तर नहर निर्माण कार्य सुस्त गतिमा हुँदा सन्धि अनुसार पाउनु पर्ने पानी नेपालले पाउन सकेको छैन।
नहर निर्माणका लागि बनेको महाकाली सिंचाइ तेस्रो चरण परियोजनाको काम कछुवा गतिमा छ। नहर निर्माणको काम सुस्त हुँदा महाकालीको पानी पाउने कञ्चनपुर–कैलालीका किसानको सपना सपनामै सिमित रहेको हुन पुगेको छ।
‘सानै छँदा पानी आउने कुरा सुनेको थिएँ। वर्षौँ पछि बल्ल अहिले नहर पुगेको छ,’ वेदकोट नगरपालिका–८ का स्थानीय थानेश्वर बडुले भने, ‘महाकालीको पानी कहिले पाउँछौँ कहिले, अत्तोपत्तो नै छैन।’
महाकाली सिंचाइ आयोजना तेस्रो चरण कार्यालयका अनुसार पहिलो भागमा कञ्चनपुरको ब्रह्मदेव क्षेत्र (दुई हजार ९०० हेक्टर) र चाँदनी–दोधारा क्षेत्र (तीन हजार पाँच सय १० हेक्टर) गरी कुल छ हजार चार सय १० हेक्टरमा पानी पुर्याउने योजना छ।
दोस्रो भागमा त्रिभुवनवस्ती क्षेत्रमा १९ हजार छ सय २० हेक्टरमा र तेस्रो भागमा कैलालीको मालाखेती क्षेत्रको सात हजार चार सय ९० हेक्टरमा सिँचाइ पुर्याइने योजना छ।
यो आयोजनाबाट कञ्चनपुर र कैलालीका गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ। तर, त्यसका लागि गर्नुपर्ने कामको गति साह्रै सुस्त छ।
सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३/०६४ देखि सुरु भएको परियोजना अन्तर्गत १५ वर्षमा १३ किलोमिटर मूल नहर मात्रै निर्माण सम्पन्न भएको छ। यही गतिमा काम भए आयोजना सम्पन्न हुन अझै दशकौँ लाग्ने देखिन्छ।
निर्माण सुरु भएको डेढ दशकमा टनकपुर मूल नहरको १३ किलोमिटर काम सम्पन्न भएको महाकाली सिंचाई तेस्रो चरणका सूचना अधिकारी मोहनराम टेलर बताउँछन्।
‘सीमीत बजेट र जग्गा प्राप्तिमा ढिलाई हुँदा काम केही सुस्त भएको हो। यो परियोजना गत वर्षदेखि राष्ट्रिय गौरवको आयोजनामा परेको छ,’ उनले भने, ‘अब कामले तीव्रता पाउँछ।’
उनका अनुसार १३ किलोमिटरदेखि २८ किलोमिटर मूल नहरको काम पनि तीव्र गतिमा भइरहेको छ। ‘दोधारा चाँदनी, मालाखेती र पुनर्वासमा सर्वेको काम भइरहेको छ’ उनले भने, ‘अहिले नहर निर्माणको कामले तीब्रता पाएको छ।’
समयमा आयोजना नबन्दा एकातर्फ परियोजना महंगो बन्दै गइरहेको छ भने अर्कोतर्फ नेपालको हिस्साको पानी पनि भारतले उपभोग गरिरहेको छ।
‘परियोजना ढिलाईले सन्धि अनुसार हामीले पाउनु पर्ने महाकालीको पानी पाउन सकेका छैनौँ,’ सूचना अधिकारी टेलरले भने, ‘हाम्रो हिस्साको पानी भारततिर बगेर गइरहेको छ। यसले सिंचाइ सुविधाबाट यहाँका जनता बञ्चित भएका छन्।’
सन्धि अनुसारको पानी उपभोग गर्न पाए कृषि उत्पादनमा वृद्धि भएर आर्थिकस्तर सबल हुने कृषकको अपेक्षा छ।
सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नु पर्ने एक हजार दुई सय मिटर नहर निर्माण पनि अन्तिम चरणमा पुगेको सूचना अधिकारी टेलर बताउँछन्।
‘भारतले गर्नु पर्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मार्चभित्र सक्ने भनेका छन्।’ उनका अनुसार भारतले गर्नु पर्ने नहर र हेड रेगुलेटर निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved