कविता
लेखक - प्रज्वल अधिकारी
दाइ,
तपाईंले अस्ति ढुंगा हानेर फोर्नुभएको
त्रिचन्द्रको झ्याल अझै मर्मत भएको रैनछ,
अस्ति तपाईंले, उनीहरू बिरुद्द हान्दा फुटेको झ्याल
र आज तपाईं बिरुद्द मैले हान्दा फुटेको झ्याल
अब कहिले मर्मत गर्ने गगन दाइ ?
यसको लागि कोसँग हात फिँजाउने हो ?
खान त तपाईंले पनि खानुभयो होला लाठीहरू
त्यही लाठीले आज तपाईंलाई
लाठी ठोक् ! भन्ने ठाउँमा पुर्यायो
तपाईंले हानेको इट्टा लागेर घाइते भएको सिपाही
जिन्दगीको भिख मागिरहेछ
उसको जिन्दगीमा खुशीयाली तपाईं दिन सक्नुहुन्छ कि
छिमेकिसँग नै माग्नुपर्ने हो ?
माग्नु भनेको पनि त कला रहेछ
कस्तो राम्रो कला सिकाइदिनुभयो
अब त हामी मागेरै धनी हुने भयौं
हजुरलाई आभार !
यो बाहेक मसँग दिन सक्ने केही छैन
हजुर माग्ने, म थाङ्ने!
यसपटक पनि चुनाव आउदैछ क्यार
आकास चुम्ने घोषणापत्र बनाउनु होला
के फरक पर्छ र ?
कलम अर्कैको, मसी अर्कैको, कपि अर्कैको, बिचार अर्कैको
यसपटक गाउँ आउँदा मिल्छ भने
त्यो गाउँगाउँको सिंहदरबार फिर्ता ल्याउनु ल
गाउँमा बिगबिगी मच्चिएको छ
हजुरसँग यत्ती चाहिँ मागें !
कि यो पनि छिमेकीसँगै याचना गर्नुपर्ने हो ?
पत्रीकामा छापिएको त्यो गगन थापा के गर्दै होला है दाइ ?
आजभोलि ! त्यो गगन थापासँग भेट हुन्छ कि नाइ ?
भेट भयो भने उसलाई नियालेर हेर्नू र आफुलाई पनि हेर्नू !
आफै गरेर खानुपर्छ भन्ने गगन
जो ख्याउटे छ, तर हिम्मतिलो छ , त्यो आजको नेपाली जनता हो
यो गगन – हजुरले बुझिसक्नु भयो होला !
आजभोलि-
स्वदेशगान सुन्छु, मुर्मुरिन्छु
ईतिहास पढ्छु, बर्बराउछु
मागेको रोटीले मेरो पेट भरिन्न
बूढो भक्ति थापा झुकेनन् अंग्रेजसँग
हैट !
एउटा जवानले संसद भवनबाट
मागेर देशको पेट भर्ने कुरा गर्दा
यो जवानको शिर झुक्यो
मगन्ते बनेर-
छिमेकीकोमा जान तयार हजुर
के साँच्चै आराम हुनुहुन्छ ?
अल्लौक निरञ्जन
प्रज्वल अधिकारी
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved