गाउँपालिकाले कृषि तथा गैरकाष्ठ व्यवसाय सञ्चालन गर्न चाहने किसानलाई समेत लगानी गर्ने योजना बनाएको छ । यहाँ अल्लो, नेपाली कागज, जडिबुटी, सिस्नो पाउडर लगायतका घरेलु प्रकृतिका उद्योग सञ्चालनमा स्थानीय कच्चा पदार्थ उपलब्ध गराइएको उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । ‘सानो सानो लगानीले महिलाहरू घरघरमै रोजगारी बन्ने अवस्था बनेको छ,’ पुनले भनिन्, ‘वनको काठ नहुने साना बिरुवा र लोकताबाट धेरैको रोजगारी चलेको छ ।’ हाते कागजमा भने पुरुष पनि रोजगार छन् । धागो खरिद गरेर ल्याएपछि ढाका र भाँग्रो बुन्ने काममा पनि धेरै महिलाले कमाइ गरिरहेका छन् । ‘घरधन्दा सकेर बर्षेनी तीन लाख रुपैयाँसम्म कमाइ गर्न सकेका छौं,’ वडा सदस्य सपनादेवी बुढाले भनिन् । अल्लो संकलन गर्ने, प्रशोधन र धागो बुन्ने सबै खर्च कटाएर कमाइसमेत गर्न सकेको उनले बताइन् ।
गाउँपालिकामा ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रम पनि सञ्चालनमा छ । यो कार्यक्रमले विपन्न परिवारमा पशुपालन र कृषि उत्पादनका लागि लगानी गरिएको छ ।