काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुुराष्ट्रसम्बन्धी माग भएपछि होहल्ला भएको छ ।
पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र हिन्दु राष्ट्र नेपाल अभियानका संयोजक शंकर भण्डारीले उक्त मुद्दा उठाएपछि बैठकमा होहल्ला भएको हो । आइतबार कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउने क्रममा महामन्त्री गगन थापालाई रोकेर भण्डारीले बहुमत महासमिति सदस्यले हस्ताक्षर गरेको हिन्दुधर्मको एजेन्डालाई माइन्युटमा राख्न माग गरेका थिए ।
भण्डारीले भने “महासमितिको बैठकमा हामीले हस्ताक्षरसहित बुझाएका छौँ, त्यसलाई केन्द्रीय समितिको माइन्युटमा कहीँ न कहीँ सम्बोधन गरिनुपर्छ, “महासमितिका १२ सय बढी सदस्यको हस्ताक्षर भएको विचारलाई तपाईं माइनस गरेर जान पाउनुहुन्छ भन्दै प्रश्न गरे ”
उनले त्यसो भन्दै गर्दा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले शैलीगत प्रश्न गरेका थिए । घिमिरे बोल्दै गर्दा हिन्दुराज्यका मुद्दाका पक्षधर कँडेल पनि बोल्न थाले । घिमिरेले केन्द्रीय समितिमा गुन्डाशैली नचल्ने सबैका माग सम्बोधन हुनुपर्ने माग राखे। उनले भने “केन्द्रीय समितिमा बोल्ने तरिका यही हो ? यहाँ गुन्डागर्दी शैली देखाउने ? “यो बीपी कोइरालाले बनाएको पार्टी हो । त्यो समयमा पनि बीपीले कहिल्यै धर्मको विषय राजनीतिमा ल्याउनुभएको छैन । किसुनजी, गणेशमानजी र महेन्द्रनारायण निधिजी त धार्मिक हुनुहुन्थ्यो, उहाँहरूले पनि राजनीतिमा धर्म ल्याउने प्रयास कहिल्यै गर्नु भएन ।”
यसरी घिमिरेले बोल्दै गर्दा बैठकमा होहल्ला भयो । कोहिले भण्डारी र घिमिरेलाई साथ दिए भने कोहिले बिरोध । उनिहरुले एकलौटी निर्णय गर्न नहुने बताए ।
त्यसपछि विमलेन्द्र निधि उठेर बोल्न थालेका थिए । उनले महासमितिको बैठकबाहिर कसैले टेन्ट टाँगेर गरेको हस्ताक्षरको विषय पार्टीको आधिकारिक छलफलजसरी सम्बोधन हुन नसक्ने बताएपछि भने केन्द्रीय सदस्य भण्डारीले ‘तपाईं चुप लाग्नुस् भन्दै निधिलाई थर्काए ! भण्डारीले भने तपाईंलाई कसले यस विषयमा बोल्ने अधिकार दियो ?’
अब त झन निधि पनि उग्र भए । “तपाईं चुप लाग्नुस् ! चुप लाग्नुस् भनेको सुन्नुभएको छ कि छैन ?,” निधिले भनेका थिए, “यो होहल्ला गर्ने ठाउँ होइन । मैले के भन्दै छु, चित्त नबुझे प्रतिवाद गर्नुहोला ।”
अर्को तिरबाट हिन्दु मुद्दालाई कमजोर नआँक्न भन्दै केन्द्रीय सदस्य सीता देवकोटा पनि ठूलठूलो स्वरमा कराएकी थिइन् । बैठक केही बेर कोलाहलपूर्ण भएपछि सभापति शेरबहादुर देउवाले ‘ल, दुवै पक्षलाई धन्यवाद’ भनेका थिए । महामन्त्री थापाले त्यसपछि बैठकका निर्णयहरू लगातार प्रस्तुत गरे । अनि, बैठक सकिएको घोषणासहित सभापति देउवा बाहिरिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved