रुपन्देही,
रबिन्द्र गुप्ता
हिन्दूहरुको अर्को लोकप्रिय सूर्य उपासनाको अनुपम पर्व छठ बिहीबारदेखि सुरु भएको छ । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको प्रारम्भ ‘अर्वाअर्वाइन’ विधिबाट भएको छ । शुक्ल पक्षको चतूर्थी तिथिका दिन अर्वाअर्वाइन वा नहाय खाए भन्ने विधि गरिन्छ ।
ब्रतालुहरूले बिहानै नुहाइ–धुवाई गरी चोखो खानेकुरा मात्रै खाने गर्छन् । उसिनेको चामल नखाइ अर्वा चामलको भात र लसुनप्याज, मसुरोको दाल वर्जित गर्छन् । छठ पूजाको भोग सामग्री तयार गर्दा शुद्धता र चोखोपनमा विशेष ध्यान दिइन्छ । छठको सामाग्री जुठो भएमा वा केही कारणले अशुद्ध हुन गएमा परिवारमा नराम्रो प्रभाव पर्ने मान्यता छ । षष्ठीको दिन नै बाँसको डाला, नांग्लो, कोनिया, माटोको सरबा, ढाकनमा भोग सामग्री राखेर निर्धारित जलाशयसम्म लगिन्छ । जलाशयको किनारमा भोग सामग्री राख्नुअघि ब्रतीले पाँचपटक दण्डवत गर्छन् । साँझको बेला अस्ताउँदो सूर्यलाई अर्घ सामग्री पालोपालो अर्पण गरी पूजा गरिन्छ । राति कतिपय स्थानमा जलाशय किनारमै मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम गरी जाग्राम बस्ने चलन पनि छ । रुपन्देही सदरमुकाम भैरहवामा विगत ५० वर्ष अगाडी देखि नै छठपर्व मनाउदै आइएको छ ।
यता कालीभक्ती गणमा भक्तजनको चाप बढेपछि त्यसको विकल्पमा श्री राम जानकी हनुमान मन्दिरको पछाडी रहेको छठपोखरीमा पर्व मनाउन थालिएको छ । ३ विगाह ३ कठ्ठा १७ धुर क्षेत्रफलमा रहेको छठपूजन स्थलमा भक्तजनको घुँइचो बढ्दै गएको छ ।
छठपूजन तयारी अन्तिम चरणमा पुगेको छ । विगतमा मधेशी समुदायले मात्र मनाउने यो पर्व अहिले राष्ट्रव्यापी रुपमा स्थापित भएको छ । छठपर्वको अवसरमा शनिबार सांझ ६ बजे पश्चात श्री रामजानकी हनुमान मन्दिर परिसरमा भगवती माताको रात्री जागरणको आयोजना गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved