पर्सा । पर्सामा मात्रै पिसिआर प्रविधिबाट सबै नगरवासीको परीक्षण गर्दा संक्रमितको संख्या एक हजार पुग्न सक्ने अनुमान गरिएको छ ।
बुधबार प्राइम टाइम्स टेलिभिजन संग कुरा गर्दे महानगरप्रमुख विजय सरावगीले पर्सामा मात्रै पिसिआर परीक्षण गर्न पाए संक्रमित हजार बढि हुने बताए । उनले भने, आरडिटी टेष्टमा नेगेटिभ देखिएर ढुक्क भएका थियौँ । त्यो त कामै रहेनछ । आरडिटी नेगेटिभ देखिएकाहरुमा पिसिआर टेष्ट पोजेटिभ देखियो ।
पर्सामा पिसिआर टेष्ट गर्नका लागि किटको अभाव भएको उनको भनाइ छ । उनी भन्छन्, पिसिआर टेष्ट गर्नका लागि किटको अभाव थियो । त्यहीँबीचमा संक्रमण फैलियो । ९ सय पिसिआर टेष्ट किट पाएपछि हामीले ४ दिनमा परीक्षण तिब्र बनायौँ । त्यसैले धेरै संक्रमित फेला परे । थप किट मागेका थियौँ, अहिलेसम्म आइपुगेको छैन ।
महानगरलाई १० हजार किट आवश्यक रहेको प्रमुख सरावगीको भनाइ छ । उनका अनुसार अहिले दैनिक १ सय २५ जनासम्मको परीक्षण भइरहेको छ ।
लकडाउनभन्दा पहिले लुकेर आएका र लुकाएर राखिएका मानिसका कारण महानगरमा कोरोना भयावह भएको सरावगीले बताएका छन् । परीक्षणमा संघले प्रभावकारी कदम चाल्न नसक्दा यस्तो भएको उनको गुनासो छ ।
केन्द्रीय सरकारले सहयोग नगर्दा वीरगञ्जले अहिले यस्तो परिणाम भोगेको भन्दै उनले अब पनि ढिला गरेमा स्थिति भयावह बन्ने बताए । उनी सरोकारवाला निकाय कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न जरुरी रहेकोमा जोड दिन्छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved