जनकपुधराम । सर्लाहीमा देखापरेको नयाँ संक्रमित काठमाडौंकै बासिन्दा भएको खुलेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको रामनगरकी १८ बर्षीया युवती संक्रमित भएकी छन् ।
तर, संक्रमित युवती लामो समयदेखि उनका परिवार काठमाडौं बस्दै आएको पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनले काठमाडौंको जडिबुटी तथा कपनमा गरी दुई ठाउँमा उनका बुबाको फर्निचर उद्योग भएको बताए । उनीहरुको बसोबास जडिबुटीमा रहेको उनले बताए ।
युवतीको स्वाब पनि काठमाडौंमै संकलन गरिएको र पोजेटिभ पाइएपछि काठमाडौंमै आइसोलेसनमा लग्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । संक्रमित युवतीबारे थप जानकारी लिने काम भइरहेको उनले बताए ।
सर्लाहीमा यसअघि १४ बर्षीय बालक र ४५ बर्षीय पुरुष संक्रमित भएका छन् । १४ बर्षीय बालकको नारायणी अस्पताल बीरगंजमा र ४५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved