कृत बिष्ट ।
कैलाली ।
भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूमि भारतमा देखाएको विषयमा नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल थाल्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को भातृ सङ्गठनहरुले माग गरेको छन् । बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै सत्तारुढ दल नेकपाको राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले यस विषयमा सरकारले अविलम्ब कूटनीतिक पहल थाल्नुपर्ने माग गरेको हो ।
ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र बहादुर सिंहले सरकारले यस विषयमा मौन बस्न नहुने बताए । भारतले गत १६ गते सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा, कुटी, गुन्नी, नापी लगायतका झन्डै ३ सय ७२ वर्ग किलोमिटरका भूभागहरू आफ्नो भन्ने दाबी गर्नु उसको नीच र हेपाहा प्रवृत्ति भन्दै यसले आम नेपाली युवाको ध्यानाकर्षण गराएको उनले बताए । भारतले यसलाई तत्काल नसच्याए आफूहरू निरन्तर सङ्घर्ष र जस्तोसुकै मूल्य चुकाउनसमेत तयार रहेको उनको भनाइ छ ।
युवा संघ नेपालका केन्द्रीइ कमीटी सदस्य दिपक बहादुर सिहंले भारत नेपाली भुमिलाई विभिन्न वाहनामा हडप्ने कार्यगरी रहेकाले सरकारले कुटनिक पहलबाट समाधान गर्नु पर्ने बताए । उनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियता र राष्ट्रिय अखन्डता माथि खेलबाड गर्ने र नेपाली जनता माथि दुर्वेवहार गर्ने कार्य भारतबाट हुदै आएको बताए ।
कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले अहिले दुई तिहाइको शक्तिशाली सरकारले भारतले नेपाली भूमि र नेपालीमाथि विगत लामो समय देखि राख्दै आएको हेपाहा प्रवृत्तिको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए ।
ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतले आफ्नो भनेर दाबी गरेको भूमि सुदूरपश्चिमको रहेको बताउँदै यसमा प्रदेश सरकारले समेत केन्द्र सरकारलाई घचघच्याएर कूटनीतिक पहलका लागि दबाब दिने बताए ।
सत्तारुढ दलका भातृ सङ्गठनले भारतले नेपालको भुमि नेपाललाई फिर्ता नगरे सम्म निरन्तर आन्दोलनमा कार्यक्रमहरु गर्ने जनाएको छ । हालसम्म भारतले नेपालको १ सय ७२ स्थानमा १५ लाख रोपनी (७८ हजार हेक्टर) भूमि अतिक्रमण गरेको समेत दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved