लक्ष्मण घिमिरे, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरपालिकाका विपन्न घरपरिवार लकडाउनको समयमा पनी सडकमा मजदुरी गर्न बाध्य छन् । अन्य समय अरुको घरमा गएर मजदुरी गरेर दुई छाक जुटाउने उनीहरुले लकडाउन भएसंगै काम नपाएपछि सन्धिखर्क-अर्घा सडकको किनारमा गिट्टी कुट्न शुरु गरेका छन् ।
उनीहरुलाई बाहिर जाँदा रोग सर्छ भन्ने थाहा भएपनी, बाहिर नगए भोकभोकै मर्नु पर्ने अवस्था छ । लकडाउनका समयमा पनी टन्टलापुर घाममा उनीहरु श्रम गर्न बाध्य छन् । सन्धिखर्क-९, पाथ्राबांगकी कमला विकले रोजगारीका लागि भारतमा गएका श्रीमान तीन महिना देखि भारतमै बेकामे भएर बसेको बताईन् । कोरोना महामारीका कारण गरिरहेको काम छुटेपछि परिवार पाल्न समस्या भएको उनको भनाई छ ।
यता सन्धिखर्क नगरपालिका वडा नम्बर-२, कुरकी ७० बर्षिय पुतला नेपालीले पनी दिनभर गिट्टी कुटेर जिवीकोपार्जन गर्दै आएकी छिन् । हातभरी ठेला देखाउँदै उनले रोग लागेर मर्नु फरक कुरा भएको भन्दै बिहान बेलुका भोकले टट्टाउनुको पिडा छुट्टै रहेको अनुभव सुनाईन् ।
कमला र पुतला मात्र नभई यहाँका दर्जनौं परिवारको ब्यथा उस्तै छ । स्थानिय सरकारले राहात वितरण गरेपनी उनीहरुको समस्या समाधान हुन सकेको छैन् ।
सन्धिखर्क नगरपालिकाले अतिविपन्न १४ सय ५६ घरपरिवार लाई राहत वितरण गरेको छ । राहतले ५ दिन पनी टार्न नसकिएको उनीहरुको भनाई छ । अब राहतको आश नगरेर परिश्रमनै गर्ने भन्दै बरु सहज काम गर्न पाउनु पर्ने उनीहरुको माग छ । ढुङ्गा जम्मा गरेर फोडेपछी एक ट्याक्टरको ३५ सय रुपैयामा बेच्ने गरेका छन् ।
एक ट्याक्टर गिट्टी फोर्न एक साता लाग्ने उनीहरुको भनाई छ । गिट्टी कुटेर बेचेपछी रासन लगेर उनीहरुले छाक टार्ने गरेका छन् । स्थानिय सरकार संगै विभिन्न संघसंस्थाहरुले बेलाबखत राहत वितरण गरेपनी गरिब बस्तीका विपन्न घरपरिवारको दैनिकीमा कुनै परिवर्तन आउन सकेको छैन । सरकारले कोरोनाबाट बच्न लकडाउन गरेसंगै गरिब तथा अति विपन्न परिवारमा रोग भन्दा भोकको चिन्ताले सताएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved