सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।
ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेशका सामाजीक विकास मन्त्री दल रावलले जानकारी दिए । उनले भने "यही जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो । तर,मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको हो ।,"
मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको मन्त्री रावलले जानकारी दिए। मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved