सुर्खेत । कर्णाली प्रदेश अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । यस्तै ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको छ ।
३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिन बस्नु परेको प्रदेश अस्पतालका निर्देशक डा. डमर खड्काले बताए ।
दैलेखका दुई जना विरामीमध्ये एक जना विगत आठ महिनादेखि टिबीको बिरामी थिए । दैलेख र सुर्खेतका अर्का एक/एक जनाले भने विष सेवन गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved