डडेल्धुरा,
प्रकाश विसी ।
डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा यातायातका साधन आवतजावतमा समस्या भइरहेको छ । सडक विभागले भिमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशक अघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारी साधन विश्रामस्थललाई हाल बसपार्कका रुपमा प्रयोग गरिएको छ भएपनि सवारी चापका कारण समस्या भएको हो ।
डडेल्धुरा सदरमुकाममा बसपार्क नहुँदा पहाडी जिल्ला पुग्ने र तराइलगायत राजधानी जाने रात्री तथा दिवा सेवाका यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ । २०५५ सालमा महाकाली राजमार्ग फराकिलो बनाउँदै कालोपत्रे गरिए पनि त्यसयता अव्यवस्थित संरचना भत्काउने लगायतका सडक सुधारका कुनै पनि कामहरु हुन नसक्दा बजारसमेत अव्यवस्थित भएको छ । सानो बिश्रामस्थलमा सवारी साधनको चाप हुने भएकाले यात्रुहरुलाई बसाउने र उतार्ने काम सडकबाटै गर्नुपर्ने बाध्यता छ । गाडीहरु रोडमा नै पार्किङ गर्नुपर्ने बाध्याता रहेको छ ।
सडकको केन्द्रविन्दु देखि दायाँ र बाँयातिर २५÷२५ मिटर छाडनुपर्ने सडक विभागको मापदण्ड छ । तर डडेल्धुरा सदरमुकाममा कतिपय घरहरु सडकको नाली मिचेर बनाइएका छन् । कतिपय पसलहरुले सडकमै सरसमान राख्ने र घरधनीहरुले विभिन्न निर्माण सामाग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारी साधन चलाउन निकै समस्या भइरहेको छ । अझ बसपार्क साँघुरो हुँदा यात्रुहरुले पनि विभिन्न किसिमका समस्याहरु भोग्दै आइरहेका छन् ।
डडेल्धुरामा हाल एउटा सार्वजनिक यातायात समिति छ । उक्त समितिका दुई सय भन्दा बढी सवारी साधनहरु पार्किङ गर्न समस्या छ भने देशका अन्य स्थानबाट आउने सवारी साधनका कारण पनि चाँप थपिएको छ ।
यता अमरगढी नगरपालीकाले बसपार्कको समस्यालाई मध्यनजर गर्दै अमरगढी ५ मा ठुलो बसपार्क निर्माण पक्रीया द्रुत गतीमा अगाडि बढीरहेको जानकारी दिएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रका साथै अन्य जिल्लाबाट आएका सवारी साधन पार्किङ गर्न नपाइने समस्या भएकाले नयाँ बसपार्कको निमार्ण कार्य तिब्र गतिमा सम्पन्न गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved