आरोहण शाह,पर्सा । पर्सा जिल्लाको एक पर्यटकीय क्षेत्र हो ठोरी। जुन यतिबेला निकै चर्चामा आएको छ । कतिपयले सुन्दै नसुनेको यो नाम प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम र अयोध्या’का बारेमा एउटा विवादास्पद अभिव्यक्ति दिएपछि एकएक चर्चामा आएको हो ।
उसोत, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको एउटा जंगलसँग जोडिएको ठोरी प्राकृतिक रुपमा रमणीय क्षेत्र हो। जहाँ घुम्नकालागि आन्तरीक पर्यटक लगायत भारतबाट समेत घुम्न आउने गर्छन । तर पनि सबैलाई यो ठाउँ घुम्न लायक छ भन्ने थाहा छैन । यता, प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको चारैतिर आलोचना त भएको छ तर, पर्साका स्थानीय अझ विशेषत ठोरीका स्थानीय भने उत्साहित भएका छन्। उनिहरुले प्रधानमन्त्रीले आफ्नो ठाउँको बारेमा बोलेर यस क्षेत्रलाई चर्चामा ल्याएकोमा धन्यबाद समेत दिएका छन् ।
ठोरी गाउँपालिका २का स्थानीय प्रेमबहादुर उपाध्यायका अनुसार ठोरी प्राकृतिक रुपमा मात्रै सुन्दर छैन। ठोरीसँग ‘पौराणिकता’ पनि जोडिएको छ। ठोरीमा एउटा गुफा छ। रामले सीतालाई त्याग गरेपछि सीता त्यही गुफामा केही समय बसेको पौराणिक कहानी छ। त्यो गुफामा एउटा चट्टानी शिवलिङ्ग पनि छ। जहाँ टाढा टाढाबाट मानिस पूजा तथा दर्शनका लागि आउने गरेका छन् ।
‘प्रधानमन्त्रीले त भन्नुभयो, त्यो हाम्रै क्षेत्र हो। ठोरीसँग धेरै कुरा गाँसिएका छन्’ उत्साहित हुँदै उपाध्याय भन्छन् ‘त्यसको त अनुसन्धान हुनुपर्यो नि, अनि पो वास्तविक कुरो थाहा होला तर, केही न केही त छ।’ पर्सा र चितवन राष्ट्रिय निकुञ्ज अनि भारतको ‘वाल्मिकी टाईगर रिजर्भ’बाट घेरिएको ठोरीमा लकडाउनभन्दा पहिला धेरै पर्यटक पनि पुग्ने गर्थे।
गत पुससम्ममा ठोरीले दैनिक १० हजार भन्दा धेरै पर्यटकसम्म थेगेको थियो। ‘तर, अहिले त सबै सुनसान छ। लकडाउन छ’ उपाध्यायको आशा छ, ‘अब प्रधानमन्त्रीको त्यो कुराको अनुसन्धान हुन जरुरी छ। त्यसले ठोरीको पर्यटकीय क्षेत्रलाई माथि उठाउन सजिलो हुन्छ र, यहाँको विकास पनि हुन्छ।’
ठोरीको पारितिर माडीमा अयोध्यापुरी पनि छ। त्यो चितवनमा पर्छ। वाल्मिकी आश्रम छ। त्यसको छेउमा सोमेश्वर डाँडा छ। अहिले अयोध्यापुरी चितवनको माडी नगरपालिकाको ७ र ८ नम्बर वडामा समेटिएको छ।
छेउमै चितवनकै रामनगर छ। प्राचीनकालमा राम विश्राम गर्न आउने ठाउँ भएकाले त्यो ठाउँको नाम राम रहन गएको हो। प्रधानमन्त्रीले भगवान राम त्यहीँ अयोध्यापुरीमै जन्मिएको भनेर दाबी गरेपनि त्यसको कुनै ऐतिहासिक तथ्य भने छैन। तर, पौराणिक भौगोलिक क्षेत्रका आधारमा त्यसको नाम भने अयोध्यापुरी रहन गएको हो।
‘यो आजको कथा होइन त्रेतायुगको कुरा हो, कोसीदेखि नारायणीसम्मको भूभाग मिथिला रहेको धेरैजसो पुराणमा उल्लेखित छ, मिथिलाको केही भाग भारतमा पनि छ,’ जनकपुर जानकी मन्दिरका महन्त रामतपेश्वर दास भन्छन ‘यसैगरी ारायणी पश्चिमको भागलाई अबध भनिन्छ। र, अबधको केही भाग नेपालमा पनि छ।’
उनका अनुसार यी क्षेत्र त्यो बेलाको एउटा भौगोलिक क्षेत्र मात्रै हो। अवधको केही भाग नेपालमा परेपनि अयोध्या पूर्वकालदेखि नै भारतको त्यही स्थानमा रहेको उनको दाबी छ। ठोरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा ७० किलोमिटर पश्चिममा छ।
ठोरी गाउँपालिकामा पुगेपछि सुमेरु पर्वत, ‘सीता गुफा वाल्मीकी आश्रम, अयोध्यापुरी हेर्न पाइन्छ। ठोरी गाउँपालिका विनोद थापा भन्छन् ‘वाल्मीकी आश्रममा अहिले पनि सीताले प्रयोग गरेको लोरो–सिलौटो, पानी खाने इनार ९कुवा० सबै छ। अयोध्यापुरी ठोरीभन्दा करिब १० /१२ किलोमिटर टाढा चितवनमा छ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved