लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्ला आर्थिक, पर्यटकीय र विकास पूर्वाधारका हिसाबले लुम्बिनी प्रदेशको मात्र नभएर सिङ्गो राष्ट्रको केन्द्रका रुपमा विकसित हुँदै गएको बताएका छन् ।
उनले प्रदेशको हिसाबले त रुपन्देही धेरै पहिले नै केन्द्रका रुपमा स्थापित भइसकेको तर अहिले भने सिङ्गो राष्ट्रको नै केन्द्रका रुपमा स्थापित हुँदै गएको बताए । उनले भने, “नेपाललाई विश्वमा चिनाउन बुद्ध जन्मस्थल लुम्बनी रुपन्देहीमा छ, अन्तरराष्ट्रिय विमानस्थल, सबैतिर जोड्ने सडक सञ्जालले रुपन्देहीलाई देशकै केन्द्रभागमा राखेको छ ।”
अर्थमन्त्री पौडेलले बुधबार रुपन्देहीका दुई ठूला तिनाउ र दानव नदीको दुवै किनारमा निर्माण हुने तिनाउ–दानव करिडोर अयोजनाको शिलान्यास गर्दै रुपन्देहीलाई प्रदेशको केन्द्र मात्र नभएर देशकै केन्द्रका रुपमा विकास गर्न कसैले रोक्न नसक्ने बताए । उनले तिनाउ–दानव नदी करिडोर केन्द्र सरकारको विशेष महत्वको आयोजना भएको र यो सडक आयोजना पूरा भएपछि बुटवलबाट भारतीय सीमा क्षेत्र मर्चवारसम्मको क्षेत्रको विकासले फड्को मार्ने बताए ।
उनले सडक आयोजना प्रक्षेपित लागतमा गुणस्तरीय र समयमा सम्पन्न गर्न सरोकारवाला निकाय र निर्माण कम्पनीलाई निर्देशन पनि दिए । उनले आयोजनाको कामको गुणस्तरीयता र यसको कार्यान्वयनका सन्दर्भमा सञ्चारजगत र नागरिक समाजले चासो राखेर अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे ।
मन्त्री पौडेलले नदी किनारमा बसोबास गर्दै आएका जनतालाई विकासका लागि सहयोग गर्न आनुरोध गर्दै नदी किनारमा बस्दै आएका भूमिहीनलाई सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए । उनले त्यस्ता नागरिकको लागत तयार गरेर स्थायी बसोबासको व्यवस्था गरिने जानकारीसमेत दिए ।
मन्त्री पौडेलले रुपन्देहीको विकाससँग जोडिएका कुनै पनि काम नरोक्न अनुरोध गर्दैै विगत पाँच वर्षदेखि रोकिएको बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा अवरोध नगर्नसमेत आग्रह गरे । उनले बुटवल राजमार्ग चौराहादेखि बेलहिया सडक निर्माणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिए । अर्थमन्त्री पौडेलले बुटवलदेखि कपिलवस्तुको धानखोलासम्मको राजमार्गको स्तरोन्नतिको कामका लागि बजेटको प्रबन्ध गर्ने गृहकार्य भइरहेकाले यसका लागि तयार रहनसमेत निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले वर्तमान केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने बताउँदै अस्थिरताको कसैमा आशङ्का छ भने त्यो नगर्नसमेत अनुरोध गरे । उनले अस्थिरताको कुनै गुञ्जायस नरहेको बताउँदै कसैले अस्थिरताको अपेक्षा गरेको छ भने त्यो नगर्नसमेत अनुरोध गरे । “यो सरकार जनता र राष्ट्रलाई केन्द्र भागमा राखेर विकास निर्माण, समृद्धि, सामाजिक न्याय र समाजवादलाई दृढताका साथ अगाडि बढाउँछ”, उनले भने, “जे जस्ता बाधा व्यवधान भए पनि सबै पन्छाउँदै अगाडि बढ्छ, रोकिँदैन ।”
अर्थमन्त्री पौडेलले तिनाउ र दानव नदीलाई आधार बनाएर नदीको किनारैकिनार बुटवलको जितगढीबाट भारतीय सीमा मर्चवारसम्मको सडकअन्तर्गत पहिलो चरणको तिनाउ नदीमा निर्माण हुने दुवै किनारातर्फ सडकको ८/६ किलोमिटर र दानव नदीतर्फ दुवै किनारातर्फ निर्माण हुने ३/६ किलोमिटर सडकको दुवै नदी किनारामा अलगअलग शिलान्यास गरे ।
सो सडकको तिनाउ नदीतर्फ पहिलो चरणअन्तर्गत ८/६ किलोमिटर सडक रु ५२ करोड ४६ लाख ८३ हजार लागतमा २०८० साल असोज मसान्तमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जनाए । यस्तै दानव नदीतर्फको ३/६ किलोमिटरको विसं २०७९ पुस २७ सम्ममा निर्माण सम्पन्न गर्नेगरी रु १९ करोड ४२ लाखमा ठेक्का सम्झौता भइसकेको महानिर्देशक शर्माले जानकारी दिए ।
रासस
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved