काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा पार्टीका चुनाव चिन्ह हलो अनावरण कार्यक्रममा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन्। उनले राजाबादी आन्दोलनलाई उत्सुकतापूर्वक हेरिएको पनि बताए ।
उनले भने, “राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाउँ भनौं, अब जनता आउ राजा ल्याऊ भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए ।
उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे । अर्का अध्यक्ष पशुपतिशमशेर राणाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पुर्याउने बताए ।
कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणा, अध्यक्ष प्रकाशचन्द्र लोहनी, बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले आ आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved