काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन-१० सदस्यीय वार्ता टोली गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबारमा आइतबार भएको वार्तामा दुवैतर्फबाट पाँच–पाँचजना सदस्य रहने गरी वार्ता टोली गठन गरिएको हो ।
वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल रहेका छन् । नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
दुवै पक्ष सम्मिलित कार्यदल बनाउने भनिए पनि वरिष्ठ नेता नेपालले नेम्वाङ र रावलको नेतृत्वमा वार्ता टोली बनाइएको जानकारी दिए । टोलीमा पूर्वमाओवादी केन्द्रको रामबहादुर थापा ‘बादल’ समूहका नेताहरूलाई भने समेटिएको छैन ।
पूर्वएमालेभित्रको घरझगडा मिलाउने छलफलमा बादललाई राखिएकोमा नेपाल समूहले आपत्ति जनाएपछि प्रधानमन्त्री ओली पूर्वमाओवादी समूहविनैको वार्ता टोली बनाएर पार्टी एकताको एजेन्डा टुंग्याउन सहमत भएका हुन् ।
वार्तापछि पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले पार्टी मिल्ने बताए । ‘पार्टी मिल्छ,’ उनले भने । छलफलपछि नेता नेपालले पत्रकारहरूसँग भने, ‘मैले अघि सारेको ६ बुँदे प्रस्तावमा आधारित भएर पार्टी संरचनालाई २ जेठ ०७५ मा फर्काउन कार्यदल बनेको छ । सकभर तीन दिनभित्र काम सक्न भनिएको छ, तर समय पुग्दैन भन्ने पनि आएको छ । कार्यदलले छिट्टै काम सक्नेछ ।’
नयाँ पत्रिका दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved