काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो नदिएकोसमेत पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाको सन्दर्भमा ठोस योजना अघि सार्न सकेको छैन । कतिपय संक्रमित र उनीहरूका आफन्तमा पर्याप्त परामर्श व्यवस्था नहुँदा मानसिक समस्यासमेत देखिन थालेको छ ।
कतिपय ठाउँमा होम आइसोलेसनमा बसेका संक्रमितले जनस्वास्थ्य मापदण्ड पालना नगर्दा थप जोखिम बढेको देखिएको छ । तर, स्थानीय सरकारले पनि उनीहरूको निगरानी गरेको पाइएको छैन ।
स्वास्थ्य मन्त्रालयले २० जेठ २०७७ मा कोभिड–१९ आइसोलेसन व्यवस्थापन निर्देशिका जारी गरेको थियो । होम आइसोलेसन बस्दा हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउन, उपचार अवधिभर बाहिर ननिस्किन र आवश्यक सामग्री परिवारका सदस्यमार्फत मगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार प्रत्येक दिन कम्तीमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएसमार्फत जानकारी गराउनुपर्छ । तर, यो अवस्था कार्यान्वयनमा आउन भने सकेको छैन ।
त्यस्तै, होम आइसोलेसन बस्दा भाँडाकु“डा, कपडा धुन पञ्जा लगाउनुपर्ने उल्लेख छ । घरमा रहेका बिरामी नियमित अनुगमन गर्ने भनिए पनि त्यसो हुन सकिरहेको छैन ।
इपीडिमियोलोजिस्ट डा। विराज कर्माचार्यले होम आइसोलेसनमा नबस्दा ग्रामीण भेगमा समुदायस्तरमा संक्रमण फैलिने दर बढेको औंल्याए । गाउँमा निषेधाज्ञा उल्लघंन भइरहेको र सामाजिक कार्यसमेत जारी रहेको उनले बताए ।
‘स्थानीय निकायले कन्ट्रयाक्ट ट्रेसिङ व्यवस्थापन गर्नुपर्छ,’ डा.कर्माचार्य भन्छन्, ‘संक्रमितको शरीरमा अक्सिजनको मात्रा हेर्नुपर्छ । ज्वरो आइरहने समस्या देखिए स्वास्थ्य संस्थामा जानुपर्छ ।’
हरेक गाउँमा संस्थागत आइसोलेसन व्यवस्था गरिनुपर्ने र उच्च जोखिममा रहेका स्थानमा सामूहिक कोरोना परीक्षण गर्न आवश्यक रहेकोमा कर्माचार्य जोड दिन्छन् ।
स्वास्थ्य मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मास्क समुचित प्रयोग, भौतिक दूरी र सरसफाइमा विशेष ध्यान दिनुपर्ने खा“चो उनले औंल्याए ।
६ हजार ६ सय ४८ डिस्चार्ज
देशभर आइतबार ६ हजार ६ सय ४८ संक्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म ३ लाख ३९ हजार ७ सय ५६ निको भएका छन् । आइतबार ७ हजार ३ सय ६८ जनामा कोरोना देखिएको छ । सक्रिय संक्रमित संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । ७ सय १ क्वारेन्टाइनमा छन् । आइतबार देशभर १ सय ४५ संक्रमितको मृत्यु भएस“गै मृतक संख्या ५ हजार १ पुगेको छ ।
संक्रमितले कसरी सुरक्षित रहने ?
संक्रमितले होम आइसोलेसनमा संक्रमितलाई हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउनुपर्छ । पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलोयुक्त खानेकुरा खानुपर्नेहुन्छ ।
प्रयोग गरिएका भाँडा सुरक्षित रूपमा सफा गर्ने र राम्रोस“ग सुकेपछि मात्रै प्रयोग गर्नुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् । हात धुने स्थान संक्रमणको स्रोत हुन सक्ने भएकाले विशेष ख्याल गर्नुपर्ने हुन्छ । धेरै प्रयोग हुने वस्तु ढोका, टेबललगायत सामान निसंक्रमण गरी नियमित सफा गर्ने निर्देशिकामा उल्लेख छ ।
संक्रमितको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमण देखिएकाले अनिवार्य सर्जिकल मास्क प्रयोग गर्नुपर्नेछ । बढी जोखिममा रहने समूह, दीर्घरोगी, सुत्केरीलाई संक्रमितको सम्पर्कबाट टाढा राख्ने निर्देशिकामा समेटिएको छ ।
श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी भएको महसुस भएमा, ओठ तथा अनुहार निलो देखिएमा, होस हराए वा अन्य कुनै जटिल अवस्था देखिएमा स्वास्थ्यकर्मीलाई जानकारी गराउन निर्देशिकामा भनिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved