काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्।
उपत्यकामा संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको जनाइएको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।
शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको हो । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । यो संगै विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।
यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन । उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved