इलाम । आयात प्रतिस्थापनमा योगदान दिने चिया खेती विस्तारमा सरकारी सहयोग कटौती भएपछि पछिल्लो ३० वर्षमा नेपालमा चियाका बगान विस्तारको काम हुन सकेको छैन । चिया खेतीको विस्तार गरि उत्पादन बढाउने चिया निति कार्यान्वयनमा चिया तथा कफि विकास बोर्ड निस्कृय हुँदा चिया खेती बिस्तार नभएको हो ।
२०४६ सालको राजनितिक परिर्वतनपछि पुर्वका किसानहरु उत्साहित भएर चिया खेतीमा लाग्न थालेका थिए । चिया क्षेत्रको थप विस्तार गर्न.२०५० जेष्ठ २० राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना गरि चिया खेती विस्तार अभियानकै रुपमा गर्ने भनिएपनि अहिले सुस्ताएको छ । बोर्ड स्थापना हुनुअघि देशभर १ हजार १ सय ७१ किसानले ५ सय ३४ हेक्टरमा चिया विस्तार गरेका थिए ।
चिया तथा कफि विकास बोर्डले राष्ट्रिय चिया निति २०५७ बनाएर मुख्य ४ वटा लक्ष्य बनाए पनि लागु गर्न नसक्दा चिया खेती विस्तार नभएको हो । चिया नीति लागु नहुँदा ५ बर्षमा ४० हजार ८ सय ७५ हेक्टरमा चिया विस्तार गर्ने, १० बर्षमा ४ करोड ६१ लाख ११ हजार केजी चिया उत्पादन गर्ने, थप ७९ हजार ३ सय १० जना नेपालीलाई रोजगारी दिने र अर्थोडक्स चियाको कुल उत्पादन ६५ प्रतिशतसम्म पु¥याउने लक्ष्य अलपत्र छन् ।
राजनितिक प्रभावले चिया निती लागु भएको २१ बर्ष वित्दा लक्ष्य हासिल हुन सकेको छैन । चिया नितीको लक्ष्यमा नपुग्नुमा चिया बिस्तारका लागि किसानलाई दिँदै आएको सुहुलियत कर्जा बन्द गर्नु मुख्य कारण रहेको सरोकारवालाको भनाइ छ ।
हालसम्म नेपालका १४ जिल्लामा निजि र सरकारी गरि २८ हजार ७ सय ३२ हेक्टरमा मात्र चिया विस्तार भएको छ । ३ करोड १ लाख ३३ हजार केजी अर्थोडक्स र १ करोड ५९ लाख ६८ हजार केजी सिटीसी उत्पादन गर्न लक्ष्य राखिएकोमा सिटिसी र अर्थोडक्स गरी कुल २ करोड २२ लाख ४० हजार केजी मात्र चिया उत्पादन हुँदै आएको छ । बोर्ड गठन भएपछि २०५० सालदेखि २०६० सालसम्ममा ५४ दशमलव ६ प्रतिशत चिया विस्तार भएको थियो ।
मुलुक गणतन्त्रमा प्रवेश गरेपछि २०७० सम्म २७ र २०७० साल यता १ दशमलव ९ प्रतिशत मात्रै चिया खेती विस्तार भएको चिया तथा कफि विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved