कहिले घट्ला खानेतेलको मूल्यउ, द्योगीहरू भन्छन् तेलको मुल्य घटिसक्यो

  • असार १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । झन्डै वर्ष दिनयता लगातार उकालो लागिरहेको खाने तेलको मूल्य केही मात्रामा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा आएको गिरावट र आपूर्तिमा सहजतासँगै मूल्य केही घटेको उद्योगीहरूले बताएका छन् । बजार अनुगमन तथा नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा गुणस्तर तथा नापतौल विभागसहितको टोलीले तराईका केही तेल उद्योगमा अनुगमन गरेपछि मूल्य घटेको विभागको दाबी छ ।

वाणिज्य विभाग र उद्योगीको भनाइमा स्वयम् खुद्रा व्यवसायी भने सहमत छैनन् । सर्वसाधारणले पनि घटेको अनुभूति गर्न पाएका छैनन् । ‘अन्तर्राष्ट्रिय बजारमा बढेपछि त्यसको बहानामा मूल्य बढाए । अहिले चौतर्फी विरोध भएपछि केही घटाएको नाटक मञ्चनबाहेक केही होइन’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘उद्योगीहरूले घटेको दाबी गरे पनि बजार ९खुद्रा० मा घटेको छैन । सर्वसाधारणले घटेको मूल्य अनुभूति गर्न पाएका छैनन् ।’ अनुगमनमा भएको सक्रियताले उद्योगीलाई मूल्य घटाउन बाध्य बनाएको स्वीकारे पनि देखावटी रूपमा मात्रै घटाएको उनको आरोप छ ।
खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले पनि बढेअनुसार मूल्य नघटेको दाबी गरे । ‘३/४ दिनयता करिब ५ रुपैयाँ घटाएको भन्ने सुनेको छु । तर बाहिर आएजस्तो प्रतिलिटर ३०/३५ रुपैयाँ घटेको छैन,’ तुलाधारले भने ।

उद्योगीले मूल्य घटाएपछि वितरक र थोकमार्फत खुद्रामा आउने हो । खुद्रा र उपभोक्ता तहसम्म आइपुग्दा धेरै तह हुँदा सर्वसाधारणले घटेको मूल्य तत्काल अनुभूति गर्न नपाएका उनको भनाइ छ । बजारमा पारदर्शिता नहुँदा समस्या भएको उनले बताए । ‘गत वर्षभन्दा लिटरमै ७०/८० रुपैयाँ बढ्यो । यो मूल्य अचाक्ली नै हो,’ उनले भने, ‘अहिले उद्योगीहरूले मूल्य घटाएजस्तै गरेका मात्रै हुन् ।’ संघकै अनुसार करिब ४ महिनायता लिटरमै ७५ रुपैयाँसम्म मूल्य बढेको थियो । १४५ देखि १६० रुपैयाँ पर्ने एक लिटर सोयाबिनको तेलको मूल्य बढेर २२० देखि २३५ रुपैयाँसम्म पुगेको छ ।

प्रतिलिटर २३५ रुपैयाँ पर्ने सूर्यमुखी (सनफ्लावर) तेल बढेर ३ सय रुपैयाँसम्म पुगेको छ । तोरीको तेलको हकमा पनि २७५ देखि २९० रुपैयाँसम्ममा बिक्री भएकोमा अहिले ३३० रुपैयाँ पर्छ । उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा बढ्दा बढ्ने र घट्दा घट्ने बताउँदै आएका छन् । नेपाल वनस्पति घिउ तेल उत्पादक संघमा २० उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चा प्रदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ ।

ती मुलुकमा कच्चा तेलको मूल्य दोब्बर बढेकाले यहाँ पनि बढेको संघको भनाइ थियो । भाडा शुल्क, सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा समेत मूल्य बढेकाले थप असर परेको संघले बताएको थियो । अहिले माग नै नभएको र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेकाले तेलको मूल्य घटाएको उद्योगीहरूले बताएका छन् । ‘अहिले तेलको माग नै छैन, अन्तर्राष्ट्रिय बजारमा पनि घटेको छ,’ नाम उल्लेख गर्न नचाहने एक उद्योगीले भने, ‘मूल्य घटाउने सन्दर्भमा वाणिज्यमा पनि जानकारी गराएका छौं । ब्रान्डअनुसार सबै उद्योगीहरूले मूल्य घटाएका छन् ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले उद्योगीहरूले मूल्यसूची नपठाए पनि मूल्य घटाउने प्रतिबद्धता जनाएको बताए । ‘उद्योगीहरूसँग भएको छलफलमा ब्रान्डअनुसार सरदर प्रतिलिटर १५ देखि ३५ रुपैयाँ घटाउने सहमति भएको छ । मूल्य थप क्रमिक रूपमा घट्दै जाने बताएका छन्,’ उनले भने, ‘विभागले उद्योगीसँग थप डकुमेन्ट माग गरेको छ, अब मूल्य घट्छ ।’ उद्योगीहरूले मूल्य घटाउने सहमति जनाए पनि सर्वसाधारणले राहत महसुस गर्न करिब हप्ता दिन कुर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार उद्योगीहरूले मूल्य घटेको तेल फ्याक्ट्री बिल काटेर वितरकलाई दिएका छन् । ‘त्यसपश्चात् होलसेल हुँदै खुद्रामा पुग्छ । अब छिट्टै उपभोक्ताले पनि राहत महसुस गर्छन्,’ उनले भने ।

आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved